अनैतिक सम्बन्ध, बार्गेनिङ र हत्या



महोत्तरी: जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ । 

 

महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्‍यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक यौन सम्बन्धमा रहेका उनीहरूसँग बेचुले बार्गेनिङ थाले ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार बेचुले जितनी देवीसँग बार्गेनिङ सुरु गरे। आफूसँग यौन सम्पर्क राख्न बेचुले जितनीमाथि दवाब बढाउन थाले। प्रस्ताव नस्वीकारे गाउँलेलाई भनिदिने भन्दै बेचुले ती महिलालाई धम्की दिन पनि भ्याए।

 

आफूहरूको क्रियाकलाप बेचुले देखेको र उनले राखेको यौन प्रस्तावबारे जितनीले आफ्ना प्रेमी सुशीललाई सुनाइन्। सुशीलले बेचुलाई उखुबारीमा बोलाएर हत्या गर्ने योजना बुने। उनको हत्या गर्न आफ्नै साथीहरूलाई परिचालन गर्ने चाँजोपाँजो मिलाए ।

 

यता जितनीले सुशील र आफ्नो बीचको अनैतिक सम्बन्ध नखुलाउने सर्तमा बेचुको यौन प्रस्ताव स्वीकारेको नाटक गरिन्। फोन गरेर गएको मंसिर २५ गते राती १० बजे जितनीले गाउँ नजिकैको उखुबारीमा उनलाई बोलाए ।

 

बेचु आउने बाटो ढुकेर जितनीका प्रेमी सुशीलले आफ्ना साथीसहित कुरेर बसे। र, जितनीसँग यौनतृष्णा मेटाउन गएका उनी सुशील र जितनीले बुनेको जालमा फसे ।

 

जितनी, सुशील र उनका सहपाठीले बेचुको घाँटी गम्छाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। उनको शव उखुबारीमै फालेर प्रेमी—प्रेमिका र उनीहरूका साथीहरू फरार भए ।

 

घटना स्थलभन्दा २० मिटरपर भेटिएको मास्क र टोपीबाट इलाका प्रहरी कार्यालय गौशालाले अनुसन्धान थाल्यो। इप्रका गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बेचुले जितनीलाई बार्गेनिङ गरेर यौन प्रस्ताव राखेको कुरा गाउँमा गाइगुईं हल्ला चल्यो। त्यसपछि प्रहरीले जितनीलाई घटना घटेको दिनै पक्राउ गर्‍यो ।

 

जितनीलाई प्रहरीले केरकार गरेपछि उनले बेचुको हत्याबारे खुलाइन्। त्यसपछि उनका प्रेमी सुशीललाई प्रहरीले गत मंसिर २६ गते नियन्त्रणमा लियो । प्रहरीको अनुसन्धानले आफूहरूको सम्बन्ध खुल्ने डरले जितनी र सुशीलले एक समूह बनाएर बेचुको हत्या गरेको खुलेको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्