२०१८ मा दक्षिण एशिया : अस्थिरता र उथलपुथलको वर्ष



काठमाडौं: इस्वी सन् २०१८ मा दक्षिण एसियामा निकै उतारचढाव भयो।  यो वर्ष दक्षिण एशियाका श्रीलंका, पाकिस्तान, मालद्वीपमा निकै उथलपुथल भएको छ ।  पाकिस्तानमा क्रिकेटमा चर्चा कमाएका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेता इमरान खान प्रधानमन्त्री बन्न पुगेका छन् ।

 

लामो समयसम्म पाकिस्तानी राजनीतिमा प्रभाव जमाएका नवाज शरीफ र बिलबाल जर्रादी भुट्टोलाई चुनौती दिएर खान सत्तारुढ बनेका हुन् । उनले देशमा देखिने गरी सुधार गर्न तीन महिनाको समय मागेका थिए । उनले केही सुधारको थालनी पनि घोषणा गरेका थिए ।

 

पुराना महँगा गाडी बेच्ने, प्रधानमन्त्री आवासमा विश्वविद्यालय बनाउने जस्ता सुधार गरे पनि आर्थिक रूपमा जर्जर देशमा उनले सुधार गर्न सकेका छैनन् । अदालतको आदेशबाट पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लीग–नवाजका नेता नवाज शरीफ कारागारमा छन् र उनले आजीवन सार्वजनिक पदधारण गर्न नपाउने भएका छन् ।

 

यो वर्ष मालद्वीपमा निकै उतारचढाव भयो । मालद्वीपमा तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिन र सर्वोच्च अदालतबीच निकै खिचातानी रह्यो । मालदिभियन डेमोक्र्याटिक पार्टी विपक्षी नेताहरूलाई जेलमुक्त गर्न आदेश दिएपछि उनले प्रधानन्यायाधीश, प्रहरी प्रमुख लगायतलाई नै नजरबन्द गर्न पुगे । अदालतले यामिनलाई नै गिरफ्तार गर्न आदेश दियो । मुलुकमा संकट लगाएर यामिनले स्थिति नियन्त्रणमा लिन खोजे ।

 

यसबाट लामो समयसम्म देशभर प्रदर्शन जारी रह्यो । अन्त्यमा निर्वाचन भयो । निर्वाचनबाट मोहमद इब्राहिम सोलिह राष्ट्रपति नियुक्त भए । यामिनलाई चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । मालद्वीपका ठूला पूर्वाधार परियोजनाका लागि उनले चीनबाट करोडौं डलर ऋण प्राप्त गरेका थिए । सोलिहसँग भारत र चीन दुवैले सहकार्य गर्न चाहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त उनको शपथमा माले नै पुगे ।

 

श्रीलंकामा सत्ताका लागि तनावपूर्ण वातावरण रह्यो । दुईजनाले आफू प्रधानमन्त्री भएको दाबी गरिरहे । पूर्वराष्ट्रपति माहिन्दा राजपाक्षे र रणिल विक्रमासिंघेको अहंले संसद्मा आक्रमण समेत हुन पुग्यो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई अपदस्त गरेर राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि शुरु भएको संकट लामो समयपछि अन्त्य भयो ।

 

राष्ट्रपतिले कूटनीतिक क्षेत्रबाट समर्थन पनि पाउन सकेनन् भने राजपाक्षेले पनि संसद्मा बहुमत हासिल गर्न सकेनन् । राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएपछि चीनले मात्र बधाई दिएको थियो । पश्चिमा मुलुक मौन रहेपछि अदालत र संसद्ले पनि सिरिसेनाको कदम असफल बनाएका थिए ।

 

दक्षिण एशियाको एक मात्र राजतन्त्रात्मक मुलुक भुटानमा सत्तारुढ दल पहिलो चरणकै चुनावमा शर्मनाक रूपमा पराजित भयो । तत्कालीन प्रधानमन्त्री छिरिङ तोब्गेको दल पिपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) सत्ताच्युत हुन पुग्यो । उक्त दल भारतमुखी भएको आरोप लाग्दै आएको छ ।

 

यसपटकको निर्वाचनबाट सन् २०१३ मा बनेको दल द्रुक न्यामरुप चोग्पा (डीएनटी)का नेता डा. लोते छिरिङ प्रधानमन्त्री बन्न पुगे । संवैधानिक दृष्टिले संसद् शक्तिशाली भए पनि वास्तविक शक्ति राजासँग छ । रणनीतिक रूपमा निकै महत्वपूर्ण भुटान कैयौं पटक भारत र चीनबीचको चेपुवामा पर्ने गरेको अन्नपुर्णमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्