मन्त्रीका लागि ५० भवन बनाइँदै



काठमाडौं : जग्गा अधिग्रहण गरेको २३ वर्षपछि सरकारले संघीय सरकरका मन्त्री, प्रदेश सरकारका प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्रीका लागि करिब ५० वटा सुविधा सम्पन्न भवन बनाउने प्रक्रिया अघि बढाएको छ । 

सहरी विकास मन्त्रालयले लतिलपुरको भैंसेपाटीमा आवासगृह बनाउन अवधारणा (कन्सेप्ट डिजाइन) निर्माण भएको जनाएको छ । सोअनुसार प्रारम्भिक काम अघि बढेको सहरी विकासमन्त्री इस्तियाक राइले जनाएका छन् ।

मन्त्रालयले आवासगृह निर्माणका लागि अन्य सबै प्रक्रिया अघि बढाउन भवन विभागलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनअनुसार भवन विभागले विस्तृत डिजाइन तयार गर्न परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको भवन विभागका डिभिजन इञ्जिनियर मच्छाकाजी महर्जनले जनाए । 

उनले भने, ‘प्रारम्भिक डिजाइन बनाइसकेका छौं। विस्तृत डिजाइन बनाउन परामर्श दाता नियुक्त गर्न प्रक्रिया अघि बढाएका छौं ।’

मन्त्रालय स्रोतका अनुसार भवन विभागले तयार गरेको कन्सेप्ट डिजाइनमा एउटा भवन तीनतला हुनेगरी तयार गरिएको छ । सरकारले २३ वर्ष अघि २०५२ मा सांसद आवास प्रयोजनका लागि भैंसेपाटीमा १ सय ४९ रोपनी जग्गा अधिग्रहण गरेको थियो । 

पुल्चोकमा रहेका मन्त्री क्वाटरलाई पुननिर्माण गर्नुभन्दा नयाँ भवन बनाउन आवश्यक देखिएपछि नयाँ भवन बनाउने काम सुरू गरिएको मन्त्री राइले जनाए ।

‘पुल्चोकको मन्त्री क्वाटर त्यसै पनि साँधुरो छ। त्यहाँ पुननिर्माण गर्नुभन्दा नयाँ भवन बनाउन आवश्यक देखिएकाले भैंसेपाटीमा नयाँ भवन बनाउने निष्कर्षमा सरकार पुगेको हो,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्