प्रमुख/उपप्रमुखको विवाद छानबिनका लागि समिति गठन



पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ। उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शिताको माग राख्दै कार्यालयमा गरेको तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्षबीचक विवाद चुलिएको थियो।

आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै गैँडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो।

आर्थिक वर्ष २०७४/७५ को असार महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख कँडेलले बताइन्। हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

पटकपटक नगर कार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाई छ। नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शिता रहेको दाबी गरेका छन्।

उक्त नगरपालिकाबाट भएका विकास निर्माणलगायतका खर्चको हिसाबकिताब जिम्मेवार जनप्रतिनिधिलाई जान्नबाट बञ्चित गराएको आरोपमा उपप्रमुखलगायत बहुमत सदस्यले मङ्गलबार तालाबन्दी गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्