भित्रियो सुपर कम्प्युटर



 बनेपा: मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो।

 

साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन्। उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’

 

नेपालमै सुपर कम्प्युटरको प्रयोगबाट भूकम्प प्रतिरुपण (अर्थक्वेक मोडेलिङ), जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, रोगको आनुवंशिक विश्लेषण, वातावरणीय तथ्यांक विश्लेषणलगायत कैयन् विषयमा उच्चस्तरका अनुसन्धान गर्न सम्भव भएको अधिकारीको बताउँछन्। ‘डाटा प्रोसेसिङका लागि अन्य मुलुकको भर पर्नुपर्दा नेपालको अध्ययन र अनुसन्धान खुम्चिएको थियो। आइटी पार्कमा सुपर कम्प्युटर प्रवेशसँगै अध्ययनअनुसन्धानका लागि असीमित सुविधा उपलब्ध भएको छ’, उनले भने।

 

 नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको छ।

 

अन्य देशमा अनुसन्धानकर्ताले स्वास्थ्यसम्बन्धी पुराना अभिलेखलाई भविष्य सूचकका रूपमा विश्लेषण गर्न अत्यावश्यक ठान्ने गरेकै कारण ती देशमा ठिक उपचार विधि र पूर्वसावधानीका उपायबारे तथ्यगत निर्णय हुँदै आएको अधिकारीको भनाइ छ। ‘नेपालका अस्पतालले नयाँ बिरामीको डाटो संग्रहणका लागि ठाउँ (स्पेस) निकाल्ने उद्देश्यले पुराना फोटोजन्य अभिलेखहरू एमआरआई, पेटस्क्यान, सिटी स्क्यान आदिलाई आवधिक रुपले हटाउनुपर्ने बाध्यता छ। विकसित मुलुकहरूमा भने यस्ता अभिलेखका आधारमा चिकित्सकले उपचार पद्धतिमा सुधार गर्दै जान्छन्। यसैले उनीहरूको उधिमा प्रभावकारिता देखिएको छ’, उनले भने।

 

केयूले जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला सर्न (युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च) को सहयोगमा सुपर कम्प्युटर, नेटवर्क स्विचका साथै अन्य उपकरण प्राप्त गरेको हो। सन् २०१३ देखि नै सर्न र इन्टरनेसनल सेन्टर फर थ्योरिटिकल फिजिक्स (आइसिटिपी) सँग केयूले सहकार्य गर्दै आएको छ। यही सहकार्यका कारण सुपर कम्प्युटर प्राप्तिमा थप सहयोग मिलेको रजिस्ट्रार प्राध्यापक सुबोध शर्माले बताए।

 

आइटी पार्कमा स्थापना भएको सुपर कम्प्युटरमा १ सय ८४ वटा कम्प्युटर सर्भर, १६ वटा स्टोरेज सर्भर, १२ वटा हाइस्पिड स्विच छन्। यस्तै, ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू) नोड भएको ५ हजार कोरको ‘टाइटन भी’ कार्ड पनि छ। पार्कको बिजिनेस ब्लकको ६ वटा र्‍याकमा रहेको सुपर कम्प्युटरको वजन करिब ५ टन छ। अमेरिकास्थित युनिभर्सिटी अफ अर्कान्ससले पनि सुपर कम्प्युटरका लागि प्राविधिक सहयोग उपलब्ध गराएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्