सभामुख र अध्यक्षलाई गाडीको लस्कर



काठमाडौं: संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् ।

 

त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था छ ।

 

सचिवालयका अनुसार सभामुख महराले बा१झ १२६८ जिप, बा१झ ८८८२ स्कोर्पियो (नयाँ), बा२झ २८६३ नं.को कार (गृहबाट प्राप्त) र बा१झ ८४८४ नम्बरको स्कोर्पियो लिएका छन् । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले संसद् सचिवालयबाट चारवटा गाडी लिएको भए पनि सभामुखले एउटा मात्रै गाडी प्रयोग गरेको बताए । ‘सभामुखज्यूले नियमअनुसार एउटा मात्रै गाडी प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

 

सहसचिवस्तरका स्वकीय सचिवले सचिवालयको नियमअनुसार एउटा, निजी सचिवालयमा एउटा र औपचारिक कार्यक्रममा जान गृहले दिएको कालो गाडी प्रयोग हुने गरेको उनले जानकारी दिए । त्यस्तै, अध्यक्ष तिमल्सिनालेबा२झ ७८९४ जिप, बा२झ २८७० नयाँ स्कोर्पियो, गृहले उपलब्ध गराएको बा१झ ८२२९ कार र बा२झ १६९१ किया कम्पनीको कार सचिवालयबाट लिएका छन् ।

 

 

अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले चारवटा गाडी लिए पनि अध्यक्षले दुईवटा मात्रै प्रयोग गरेको बताए । उनका अनुसार गृह मन्त्रालयले दिएको कालो गाडी औपचारिक कार्यक्रममा प्रयोग गर्ने, एउटा निजी सचिवालयले प्रयोग गर्ने र दुईमध्ये एउटा अध्यक्षले नियमित प्रयोग गरेको उनले बताए ।

 

‘अध्यक्षज्यूले चढ्ने एउटा गाडी सर्भिसिङमा पठाउँदा र बिग्रँदा प्रयोग गर्नुहुन्छ,’ उनले भने ।उपसभामुख शिवमाया तुम्बाहाम्फेले बा२झ १६९० कार र बा२झ २८७३ नयाँ स्कोर्पियो लिएकी छन् । महासचिव मनोहरप्रसाद भट्टराईले ५ वटा गाडी लिएको कर्मचारीको आरोप छ ।

 

सचिवालयको रेकर्डमा भने उनले बा१झ ८२०६ र बा२झ १६८६ नम्बरको कार लिएका छन् । रेकर्डमा भएका दुईभन्दा अरू गाडी आफूले नलिएको भट्टराईले बताए । ‘मैले दुईवटा गाडी मात्रै लिएको छु,’ उनले भने । पदाधिकारीमध्ये राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले बा२झ २८७४ स्कोर्पियो लिएकी छन् ।

 

‘मलाई एउटा भए पुगिहाल्छ । थप गाडी माग्न गइनँ, हामीसँग छ, लैजानुस् भनेर कसैले दिएका पनि छैनन्,’ उनले भनिन् । अरू पदाधिकारीको जस्तै उनले पनि चार जना रहेको निजी सचिवालय बनाएकी छन् । सचिवालयले सभामुख, अध्यक्षसहित पदाधिकारीका लागि थप सवारीसाधन खरिद गर्न २० करोड ३२ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको थियो । अर्थले ५ वटा गाडी किन्न ३ करोड रुपैयाँ खर्च गर्न सैद्धान्तिक सहमति दिएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्