यसरी हुन्छ जेलभित्रै अपराध सेटिङ



काठमाडौँ: गत वैशाख २० गते । जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा नख्खु जेलमा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनुवार अचानक बिरामी परे । उपचारकै क्रममा पाटन अस्पतालमा उनको मृत्यु भयो । शंकास्पद मृत्युको यो घटनामा प्रहरी परिसर ललितपुरले तथ्य पहिल्याउन सकेन ।

 

गृह मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त अनुसन्धान अघि बढाए । उक्त टोलीले पनि नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइयो । ब्युरोले जेलभित्रै रहेका ‘सिरियल किलर’ अभिषेकराज सिंहले विषादी खुवाउँदा भक्तको मृत्यु भएको निष्कर्ष निकाल्यो । कर्तव्य ज्यानका तीन र ज्यान मार्ने उद्योगको एक गरी चार मुद्दामा सजाय खेपिरहेका अभिषेकलाई सघाएका थिए, ध्रुवकृष्ण शर्मा र बैंकिङ कसुरमा कैद भोगिरहेका मनोजकुमार चौरसियाले ।

 

सामान्य चोरी मुद्दामा नख्खु जेल पुगेपछि ध्रुवको हेलमेल अभिषेकसँग भएको थियो । यही चिनजानका कारण कैद भुक्तान गरेको केही महिनामै उनी हत्याको मतियार बनेर फेरि जेल चलान भए । ध्रुव जेल परेर सुध्रिएनन्, उल्टै अपराधको जालो बुन्न सिके ।

 

देशका ७२ जिल्लाका कारागारमा २० हजारजति कैदी विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका छन् । तीमध्ये कति जना आचरण सुधारेर सामान्य जीवनमा फर्केलान् ? कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली यसबारे कुनै अध्ययन नरहेको बताउँछन् । ‘कति सप्रेका पनि छन् तर कतिपय फेरि अपराधमै लागेका छन्,’ उनले भने, ‘कतिपय आपराधिक मानसिकता भएका हुन्छन् । तिनीहरू कसै गरे सुध्रिन्नन् ।’

 

२०७४ माघ १० गते । सूर्यविनायक ८ गणेश चोकस्थित मनोहर बस्नेतका घरमा हतियारधारी समूह पस्यो । गरगहना, मोबाइल र नगद गरी १६ लाख ८० हजार रुपैयाँ बराबर लुटियो । ५ दिनपछि महानगरीय प्रहरी अपराध महाशाखाले भोजबहादुर थापामगर, मिलन भनिने रत्नबहादुर थापामगर, विष्णु भनिने अमृत तामाङलाई पक्राउ गर्‍यो ।

 

करिब ६ महिनापछि रामेछाप, दोरम्बा ३ का टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोक, मेलम्ची १ का अदीप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ पनि पक्राउ परे । दुई अझै फरार छन् । प्रहरीले उक्त डकैतीमा संलग्न सबै यसअघि पनि विभिन्न पटके चोरीमा कैद भुक्तान गरेका व्यक्ति रहेको थाहा पायो । फरकफरक मुद्दामा केन्द्रीय कारागार पुगेका उनीहरूको त्यहीँ चिनजान भएको रहेछ । प्रहरीका अनुसार भोजबहादुर २० वर्षदेखि चोरीमा संलग्न छन् ।

 

उनी कतिपल्ट पक्राउ परे, जरिवाना तिरे, हिसाबकिताबै छैन । विष्णुको विगत पनि उस्तै छ । उनी २०६९ सालमा मोटरसाइकल चोरीमा जेल परेका थिए । काठमाडौंबाट मोटरसाइकल चोर्ने र सिन्धुपाल्चोकका दुर्गमा गाउँ पुर्‍याएर बेच्ने उनको धन्दा थियो ।

 

कारागारमै चिनाजानी भएपछि उनीहरूले चोरीमा सजाय भुक्तान गरिरहेका अन्य कैदीसँग पनि हेलमेल बढाए । अदीपको पनि चोरीडकैती कर्मको फेहरिस्त लामो छ । उनी २०६४ माघ १३ मा कर्तव्य ज्यान मुद्दामा जेल चलान भएका थिए । ९ वर्ष जेल बसेपछि २०७३ जेठ १५ गते गणतन्त्र दिवसमा कैद छुट पाए । निस्केर पुरानै कर्ममा लागे ।

 

चोरी काण्डबाट छुटेपछि डाँका मुद्दामा पक्राउ गरिएका थिए, २०७० भदौ २२ मा कारागार चलान भएका टोकल । उनी २०७४ असोज ९ गते थुनामुक्त भए । त्यसपछि पनि डकैती छाडेनन् । महाशाखाको मुद्दा शाखाका एक प्रहरी अधिकारी भन्छन्, ‘जेल त उनीहरूका लागि अपराध सिक्ने पाठशालाजस्तो भएको देखिन्छ ।’

 

महाशाखाको खोजी सूचीमा अहिले प्रकाश भनिने तेजबहादुर तामाङ छन् । पटके चोरी हुँदै डकैतीमा प्रवेश गरेका प्रकाशको अपराध कर्मको आफ्नै गोरेटो छ । यसमा उनले कुख्यात डाँका टीके भनिने टीकाबहादुर थापामगरको साथ पाए ।

 

प्रहरीका अनुसार भिन्नाभिन्नै मुद्दामा थुनामा रहेका बेला टीका र प्रकाशको चिनजानी भएको थियो । दुवै मिलेर मोटरसाइकल र गाडी चोरीको धन्दा चलाएका थिए । टीकेले २०६४ पछि विभिन्न पटक गरी पाँच वर्ष कारागारमा बिताएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्