सिन्धुली : सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन् । बीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टै गुमाएका एक द्वन्द्वपीडित वृद्ध छन् । साविक महादेवस्थान गाविस हाल मरिन गाउपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन् ।
द्वन्द्वमा विद्रोही पक्षले दुवै खुट्टा काटेपछि जसोतसो जिविका चलाएका गोरेको अहिलेको दैनिकी भने निकै कष्टकर बनेको छ । सात छोरी र ६ जना छोरा भए पनि उनको साथमा अहिले कोही छैनन् ।
एउटी नातिनीको रेखदेखमा जेनतेन जीउन उनी वाध्य छन् । उमेरले ८८ वर्ष लगोका उनी घरको भित्र र बाहिर गर्नसमेत नसक्ने अवस्थामा छन् । २०५४ साल पुस १९ मा सुराकीको आरोपमा उनलाई तत्कालीन विद्रोही पक्ष रहेको माओवादीका कार्यकर्ताले खुट्टा काटिदिएका थिए ।
त्यसबेला उनी वडाध्यक्षसमेत थिए । दुवै खुट्टा काटेपछि औषधि उपचारसहित कृतिम खुट्टाबाट वैशाखीको सहायताले जसोतसो बाहिर–भित्र गर्ने गरेका गोरेको हाल कृतिम खुट्टासमेत भाचिए । ‘महँगो हुँदो रहेछ बाबु कृतिम खुट्टा,’ उनले भने, ‘ २ लाख डिपोजिट गरेपछि मात्रै बनाइदिने भनेका छन्, कहाँ बाट ल्याउनसक्छु र दुई लाख ?’
दुवै खुट्टा काटिएपछि उनको परिवारसमेत क्षतविक्षत भयो । सबै मिलेर जसोतसो गुजरा गर्दै आएका परिवारमा खुट्टा खाटिएपछि छोराछोरी सबैले घर छाडे ।
उनले काठमाडौंमा उपचार त गराए तर अब हिँड्ने साहारा कृतिम खुट्टाबाहेक नभएपछि अरुको आश्रित हुनुपरेको दुःखेसो गर्छन् । ‘द्वन्द्वपीडितकै नाममा राज्यले अर्बौ सकेको समाचारमा सुन्छु, उनले भने मैले राम्रो औषधि उपचार पनि पाइन ।’
उनले द्वन्द्वपीडितको नाममा आफूले केही सुविधा र केही राहत नपाएको गुनासो गरे । दुई वर्षअघि आफैं मन्त्रालय धाएपछि अपांग भत्ताबापत मासिक ७ हजार रुपैयाँ पाएको उनी बताउँछन् ।
‘म दुईओटै खुट्टा नभएको पूर्ण अपांग हुँ । त्यहीअनुसार अपांग भत्ता मात्रै पाएको छु, अन्य राज्यबाट केही सुविधा लिएको छैन ।’ अपांग भत्ता पाउने भएपछि उनले केही महिना अगाडि २० हजार ऋण लिएर आफू बस्ने कोठामा सानो किराना पसल सुरु गरेका छन् ।
‘र्याकमा भएका सामान किन्न आउनेलाई उनी आफैंले झिकेर लैजाउ भन्छु, हातले भेट्ने आफै दिन्छु, पैसा जम्मा गर्छु उनले भने सामान सकिएपछि अटो रिक्सा रिजर्भ गरेर नातीनी वा कसैको सहयोगमा सामान ल्याउने गरेको छु ।’ आजको नागरिक दैनिकमा समाचार छ ।