राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री अाज स्वदेश फर्कँदै



काठमाडौं : नयाँ संविधान घोषणापछि सम्पन्न तीनै तहको निर्वाचन सम्पन्न गरेको नेपालले आफूले प्राप्त गरेको सफलता अन्तर्राष्ट्रिय समुदायमाझ राख्न प्रधानमन्त्री ओली न्युयोर्क  प्रस्थान गरेका थिए। उनी आज फर्कंदै छन्।

 

राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएका ओलीले महासभालाई सम्बोधन गर्नुका अलावा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग पनि 'साइडलाइन' वार्ता गरेका थिए।

 

विभिन्न अन्तर्वार्तामा व्यस्त प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहँदा नेपालले प्राप्त गरेको शान्ति प्रक्रियाको सफलताको अनुभव अन्य मुलुकका लागि सहयोगी हुन सक्ने बताउँदै आफ्ना अनुभव सुनाएका थिए।

 

महासभामा सहभागी हुन आएका पाहुनाको स्वागतमा अमेरिकी प्रथम महिलाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उभिएरै केही क्षण कुराकानी भएको थियो।

 

यस्तै न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जस्टिन टूडाउसँग पनि अनौपचारिक भेट गरे भने स्विट्जरन्ल्याडका राष्ट्रपति आलिएन ब्रिसेटसँग पनि भेटवार्ता गरेका थिए। 

 

यस्तै, न्युयोर्कमा आफ्नो सम्बोधन सकेर प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस आल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिका पुगेका थिए। कोस्टारिकाको सान होजमा रहेको शान्ति विश्व विद्यालयले ओलीलाई मानार्थ विद्यावारिधि उपाधिसमेत प्रदान गरेको छ।

 

२०१२ मंसिर २९ गते औपचारिक हिसाबमा संयुक्त राष्ट्रसंघ प्रवेश गरेको नेपालले २०४६ को प्रजातन्त्र प्राप्तिभन्दा अघि एक पटक तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र २०२४ मा राष्ट्रप्रमुखको हैसियतमा राजा महेन्द्र सहभागी भएका थिए।

 

अधिकांश समय परराष्ट्रमन्त्री सहभागी हुँदै आएको महासभामा २०४६ को प्रजातन्त्र पुनर्स्थापनापछि अधिकांश समय सरकार प्रमुख नै महासभामा सहभागी हुँदै आएका छन्। 

 

गत असोज ६ गते न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे स्वदेश फर्कंदै छन्।

प्रतिक्रिया दिनुहोस्