पुनर्संगठित हुँदै ‘एलोभेष्ट आन्दोलन’ : दवावमा राष्ट्रपति म्याक्रों



फ्रान्स : फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंले अघि सारेको पेन्सन सुधारका कार्यक्रमविरुद्ध फ्रान्सेली ‘एलो भेष्ट’ प्रदर्शनकारीहरुले आफ्नो हडताल जारी राखेका छन् । पेन्सन कम गराइएको विषयलाई लिएर फ्रान्सेली ट्रेड युनियन तथा अन्य संघसंस्थाका साथै स्थानीय किसानहरुसम्मले देशव्यापी आन्दोलनका लागि सहमती गरेपछि फ्रान्सले ठूलो हलचल बेहोर्नुपर्ने भएको छ ।

आन्दोलनमा विद्यालयका शिक्षक तथा कर्मचारीहरु, यातायात मजदुर तथा कर्मचारीहरु, कानुन व्यवसायीहरु, अस्पताल तथा विमानस्थलका कर्मचारीहरु सबै सहभागी हुने गरी सामुहिक निर्णय लिइसकेका छन् ।

यो सम्भावित आन्दोलन तथा त्यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी म्याक्रोंको सरकारले आन्दोलनका तयारी गरिरहेका सबैसँग वार्ता र मध्यस्थताका लागि अनुरोध गरिरहेको छ । कटौती गरेको पेन्सन पूरा नदिँदासम्म कुनै पनि वार्ता वा छलफल उनीहरुका लागि स्वीकार्य नभएको आन्दोलनकर्ताहरुले बताइरहेका छन् ।

अब हुने आन्दोलनमा देशका ६९ प्रतिशत जनताको समर्थन रहने एक अनुसन्धानले जनाएको छ । यसका साथै, यो आन्दोलनमा देशका १८–३४ वर्षभित्रका युवाहरुले भाग लिने जनाइएको छ । त्यसैले पनि यो बढी खतरा र जोखिमपूर्ण रहेको मानिएको छ ।

सरकारले पूर्व आँकलन गरे अनुसार देशैभर २५० वटा आन्दोलनका स्वरुपहरु एकैपटक उठ्ने र तिनलाई प्रशासनिक हिसाबले रोक्न वा व्यवस्थापन गर्न निकै गाह्रो हुने बताइएको छ । यसका साथै यी हडताल डरलाग्दा हिंसामा परिणत हुनसक्ने आँकलन पनि गरिएको छ ।

मानिसको भीडमा उत्पन्न हुने जोश र उन्मादले फ्रान्सलाई ठूलो क्षतितिर डोर्याउन सक्ने कुरालाई पनि बेलैमा सोच्नुपर्ने भनी म्याक्रों सरकारलाई चेतावनी दिइएको छ । मेट्रो रेल तथा कारखाना मजदुरका साथै युवाहरुको सहभागिताले आन्दोलन बिष्फोटक बन्न सक्ने संभावनालाई इन्कार गर्न नसकिने राष्ट्रपति म्याक्रोंको पनि आँकलन रहेको बताइएको छ ।

एक त देशभर आन्दोलन, त्यसमा पनि सारा फ्याक्ट्री बन्द, उद्योगधन्दा बन्द, विद्यालय बन्द, एयरपोर्ट बन्द भएपछि फ्रान्स चौपट हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्