नक्कली प्रमाणपत्रधारीलाई सफाइ



काठमाडौं : निजामती किताबखानाको उद्देश्यमा भनिएको छ, ‘सरकारका विभिन्न निकायलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी सूचना तथा तथ्यांक उपलब्ध गराउने ।’ 

निजामतीतर्फका सम्पूर्ण कर्मचारीको अभिलेख अद्यावधिक राख्ने किताबखानाले कर्मचारीको नक्कली प्रमाणपत्र वा अन्य व्यक्तिगत विवरणबारे शंका उत्पन्न भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउँदै आएको छ । तर, त्यस्तो जिम्मेवार निकायको हाकिम नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको प्रमाणित भएका व्यक्ति छन् ।

किताबखानाका महानिर्देशक जयनारायण आचार्यको प्रवीणता तहको प्रमाणपत्र नक्कली हो । निजामती सेवामा नियुक्ति हुन आचार्यले सन् १९९५ मा अनुक्रमांक इन्टरमिडियट परीक्षा, माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए । 

उनको अनुक्रमांक ‘७१५६२७’ हो। परिषद्ले नै उनको प्रमाणपत्र नक्कली भएको औपचारिक पत्र पठाएको थियो । सर्वोच्चको फैसलामा आचार्यको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी भारतले ‘अनुदानित नही है’ भनी लेखी आएको विवरण प्राप्त भएको स्पष्ट उल्लेख छ । 

यहाँसम्म कि आचार्य स्वयंले ‘अनुदानित नही है’ भनी लेखी आएको प्रमाणीकरण विवरणमा सनाखत गरिदिएको अदालती बयानमा स्वीकारेका थिए ।

प्रशासकीय कानुनका जानकार त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसमा उपप्राध्यापक केशव पाण्डे नक्कली प्रमाणपत्रधारी व्यक्तिलाई निजामती किताबखाना जस्तो संवेदनशील निकायको जिम्मेवारी दिनुलाई सरकारको गम्भीर गल्ती भन्छन् । कारबाही गर्नुपर्ने व्यक्तिलाई जिम्मेवारी दिएर अवैध कामलाई मान्यता दिन नहुने उनले बताए । 

उनी भन्छन्, ‘सरकारले उनीमाथि कारबाही गर्न कदम चाल्नुपर्छ ।’ नक्कली प्रमाणपत्रधारी सिद्ध भइसकेको व्यक्तिबारे सर्वोच्चको फैसलाबाट भ्रष्टाचारी ठहर भइसकेका व्यक्तिलाई पुनरावलोकनमार्फत सफाइ दिनुलाई न्यायिक त्रुटि भन्छन् पाण्डे । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्