कांग्रेस–सरकार दूरी झन् बढ्दै ‘प्रतिपक्ष छ भन्ने देखाइदिन्छौं’



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको छ । पछिल्लो समय सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएपछि कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको हो ।

 

संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन गत बुधबार नै विपक्षी दल कांग्रेसले संसद् बैठकमार्फत सरकारको कडा आलोचना गरेको थियो । कांग्रेसले जननिर्वाचित संसद्को थलो छलेर सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ ।

 

उसले संसद्मार्फत नै दलहरूबीचको परामर्शमा ऐन ल्याउन सकिने अवस्थामा समेत विपक्षमा रहेका दललाई देखाइदिने नियतले अध्यादेश ल्याएको र सरकारले नै प्रतिपक्षसँगको दूरी बढाउन चाहेको बताएको छ । कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले एकपछि अर्को गर्दै जनताका हितविपरीतका गतिविधि गर्दै अघि बढेको र अब संसद्मा प्रतिपक्ष पनि छ भन्ने सरकारलाई आभास गराइदिने जनाए ।

 

‘सरकार दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको छ । जनताका हितविपरीतका घटना एकपछि अर्को गर्दै दोहोरिरहेका छन्,’ खाँडले भने, ‘कांग्रेसले अब संसद् र सडकबाट प्रतिपक्ष छ भन्ने देखाइदिन्छ ।’मुख्य सचेतक खाँडले सरकारले प्रदेशलाई अधिकार विकेन्द्रित गर्नुको साटो भएका अधिकारसमेत प्रधानमन्त्री कार्यालयमा केन्द्रीकृत गर्नुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकारको प्रतिबद्धतामा शंका उब्जिएको बताए ।

 

निर्मला हत्या तथा बलात्कार प्रकरण, खस्कँदो शान्ति सुरक्षाको स्थिति, बढ्दो महँगी, कर वृद्धिलगायतका विषयमा कांग्रेसले संसद्को जारी हिउँदे अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने खाँडले जानकारी दिए ।

 

‘संसद्को पहिलो र दोस्रो अधिवेशनमा त हामी शालीनतापूर्वक नै प्रस्तुत भयौं । सरकारले संविधान र कानुनको सीमा नै नाघ्यो, अबको अधिवेशनमा कांग्रेस सशक्त भूमिकामा रहन्छ,’ खाँडले थपे ।प्रवक्ता विश्वप्रकाश शर्माले सरकार आफैंले सरकारको भूमिका बिर्सिएका कारण सम्बन्धमा निकटता र हार्दिकता नदेखिएको जनाए । ‘सरकारले कस्तो व्यवहार देखाउँछ भन्ने सरकारको भूमिकामा भर पर्छ । सम्बन्धमा निकटता र हार्दिकता सरकारको भूमिकाबाटै देखिन्छ, त्यो देखिएन,’ प्रवक्ता शर्माले भने ।

 

केही दिनअघि राजधानीमा पत्रकारसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचन गरेका थिए । उनले निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्न दोषीलाई संरक्षण गर्न सरकार नै लागेको भन्दै सरकारको आलोचना गरेका थिए । ‘सरकारले निर्मला हत्यामा संलग्नलाई पक्राउ गर्नुको साटो संरक्षण गर्न लागेको छ । जुनसुकै पार्टी निकट भए पनि अपराधीलाई छाड्नुहुन्न । यस्तो कहिल्यै भएको थिएन । अपराध बढ्यो, सरकार देख्दैन,’ देउवाले सरकारको आलोचना गर्दै भनेका थिए ।

 

उनले आफ्नो कमजोरीको विरोध गर्ने छुट पत्रकारलाई रहेको भन्दै सरकारको कमजोरीमा पनि डटेर लेख्न आग्रह गरेका थिए । केही समयअघि राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनपछि सरकार र कांग्रेसबीचको दूरी बढ्न थालेको हो । कांग्रेस कुनै एक धर्मको प्रचारमा सरकार लागेको भन्दै त्यसयता सरकारविरुद्ध खनिँदै आएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्