गर्भवतीको निगरानी मोबाइल एप्सबाट



मकवानपुर : गर्भवती र सुत्केरीको निगरानीका लागि कैलाश गाउँपालिकाले आइतबार मोबाइल एप्स प्रयोगमा ल्याएको छ। पाँच स्वास्थ्य चौकीमार्फत एप्सबाट निगरानीको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंक मोक्तानको भनाइ छ ।

 

‘पाँचवटै स्वास्थ्य चौकीमा एप्ससहितको मोबाइल वितरण गरेका छौं’, अध्यक्ष मोक्तानले भने, ‘आफ्नो क्षेत्रभित्र रहेका गर्भवती र सुत्केरीको विवरण अद्यावधिक गर्नुका साथै स्वास्थ्य कर्मचारीले उनीहरूको निगरानी गर्नेछन्।’

 

गाउँपालिकाले भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क स्वास्थ्य चौकीमा मोबाइल वितरण गरेको छ। ‘यसले आमा र बच्चाको अकालमै ज्यान जाने क्रममा न्यूनीकरण हुनेछ’, उपाध्यक्ष सुकुमाया तामाङले भनिन्, ‘यसका साथै स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउने क्रम पनि बढ्छ भन्ने विश्वास छ।’ एप्सले समयअवधिका आधारमा सूचना पठाउने र त्यसपछि स्वास्थ्यकर्मीले परामर्श र स्याहार गर्ने गरी व्यवस्था मिलाइएको उनले सुनाइन् ।

 

२०७४÷७५ मा ७० प्रतिशत सुत्केरी र गर्भवतीले दक्ष स्वास्थ्यकर्मीबाट परीक्षण तथा उपचार नगराएको गाउँ स्वास्थ्य समितिको तथ्यांक छ। ३ नम्बरका वडाध्यक्ष देवलाल बलले समयमै उपचार अभावमा वर्षमा पाँच जनासम्मको ज्यान जाने गरेको सुनाए। ‘सामान्य कुरा थाहा नपाउँदा पनि आमा र बच्चाको ज्यान जाने गरेको छ’, उनले भने, ‘कतिपय अवस्थामा सिटामोलसमेत पाउन सक्ने अवस्था छैन। सुत्केरी र गर्भवती महिला स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य अवस्था राम्रो रहनेछ । आमा र बच्चाको मृत्युदरसमेत घट्नेछ।’

 

गाउँपालिकाले बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भए ५ सय रुपैयाँका दरले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्