खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द



काठमाडौं:  नेपाल विद्युत् प्राधिकरणले तोकिएको सर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ ।

 

सो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सले संयुक्त रूपमा गर्दै आएका थिए । ठेक्का सम्झौताअनुसारको  काम नगरेपछि प्राधिकरणले चिनियाँ  कम्पनीको ठेक्का रद्द गरेको हो । प्राधिकरणका अनुसार तामाकोसी–काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यु खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडिएको हो ।

 

प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ करोड ५४ लाख (१४ लाख ५४ हजार डलर)  र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानतसमेत  जफत गरेको छ । आयोजना प्रमुख नवराज ओझाले तोकिएको सर्तअनुसार काम नभए पनि ठेकेदारसँगको सम्झौता रद्द गरिएको जानकारी दिए ।

 

प्राधिकरणले ठेकेदार कम्पनीसँग २०७३ असोज ११ मा ठेक्का सम्झौता गरी १२ जेठ २०७६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौताअनुसार १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महŒवको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटकपटक निर्देशन दिँदै आएका छन् । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

 

ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिँदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटकपटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महŒवको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का रद्द गरिएको आयोजना प्रमुख ओझाले जानकारी दिए ।

 

काम गर्न पटकपटक गरिएको ताकेता तथा चेतावनी दिँदा ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्नमै कम्पनी लागिरह्यो, काम नगर्ने तर विभिन्न बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखिएको उनको भनाइ छ ।

 

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्नेलगायतका काम नगरेको प्राधिकरणको भनाइ छ । ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए । उनका अनुसार आगामी चैतभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको  ८२० दिनभित्रमा प्रसारण लाइन  निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले बताए ।

 

आयोजनामा नेपाल सरकार र एसियाली विकास बैंकको लगानी रहेको छ । कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०÷१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताए ।

 

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्