मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग 



भद्रपुर:  मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । 

नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । 

 

मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग सो माग गरेको हो ।

 

टोलीमा पूर्वसांसद पुष्पराज पोखरेल, मैत्री सङ्घका सल्लाहकार चिन्तामणि दाहाल, नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा तथा सङ्घका सदस्य प्रदीप सरावगी थिए । 

 

प्रमुख जिल्ला अधिकारी दाहालले यसबारेमा हुलाकी राजमार्ग परियोजनाका डिई, प्रहरीलगायतसँग बसेर निर्णय गर्ने जवाफ दिए । 

 

टोलीले चारआली–केचना मार्गको निर्माण सुस्त गतिमा भइरहेको काम छिटो गराउन पहल गर्नुपर्ने, झापा चोकदेखि राजगढसम्मको हुलाकी राजमार्गको काम छिटो सिध्याउन पहल गर्नुपर्ने, चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवनको काम र रोकिएको मेची अञ्चल अस्पतालको नयाँ भवनको निर्माण अघि बढाउन पहल गर्नुपर्ने आग्रह गरेको थियो । 

 

चन्द्रगढी विमानस्थलको जग्गा मुआब्जा विवादलाई विवेकसम्मत ढङ्गले मिलाउनुपर्ने तथा मेची पुलसँग हुलाकी राजमार्गको कनेक्टिभिटीमा पर्ने जग्गावालको क्षतिपूर्तिमा विवेक पु¥याउनुपर्ने माग पनि प्रजिअसमक्ष राखिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्