इंग्लिस प्रिमियर लिग : युनाइटेड, सिटी र चेल्सी विजयी



एजेन्सी : इंग्लिस प्रिमियर लिग अन्तर्गत  गए राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । 

म्यानचेस्टर युनाइटेडले पउल पोग्वाको दुई गोल मद्दतमा बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा पोग्वाको २ गोलसँगै मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १–१ गोल गरे । बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा पउल पोग्वाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो । 

पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा नाथन एकेले गोल गरेपछि गोल अन्तर ३–१ म झारेको थियो । 

७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए । जितपछि युनाइटेड ३५ अंक जोडेर छैटौँ स्थानमा यथावत् छ । पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ ।

म्यानचेस्टर सिटी भने इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गरेको हो ।

सिटीले साउथह्याम्टनलाई उसकै मैदानमा पराजित गरेको हो ।  डेभिड सिल्भाले गोल गरेपछि सिटीले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । ३७औं मिनेटमा पिएर इमिलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

४५औं मिनेटमा जेम्स वार्ड प्रोजले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अग्विरोले गोल गरेपछि सिटीले खेलमा ३–१ को अग्रता बनायो । 

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी भयो । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ७ मा झारेको छ । 

जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । तेस्रो स्थानको टोटेनहमको ४५ अंक रहेको । शीर्ष स्थानको लिभरपुलको समान खेलबाटै ५४ अंक  छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे । उनले दोस्रो हाफको ५१ औं मिनेटमा विजयी गोल गरेका थिए ।

यस जितसँगै चेल्सीको २० खेलमा ४३ अंक छ भने आर्सनल २० खेलमा ३८ अंक जोड्दै पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्