आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस



काठमाडौं: ४३ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहित नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

 

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

 

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई जेल पठाइएको थियो ।  

 

नेपालमा केही समय जेल जीवन बिताइ सकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका नेताहरु राष्ट्रियतामाथि खतरा आएको भन्दै आठवर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।

 

भारतको तत्कालीन विस्तारवादी नीतिबाट नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका बिपीलगायत नेतालाई महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

 

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश आएका बिपीले मुलकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । हरेक वर्ष पुस १६ गते काँग्रेसले देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्