हिमपातले ६ जनाको मृत्यु



अमेरिका : अमेरिकामा भिषण हिमपात तथा हुरीबतासका कारण विभिन्न घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । विदाका क्रममा यात्रामा ब्यस्त रहने यो समय सडक तथा हवाई यातायात सेवा प्रभावित हुँदा मानिसहरुको आवागमनमा असर परेको छ ।

 

देशको उत्तरी मध्य समथर देखि मध्य पश्चिमी इलाकामा ८ देखि १२ इन्चसम्मको हिमपातका कारण शुक्रबार ५ सय भन्दा धेरै उडान रद्द गरिएको र ५ हजार ७ सय उडान ढिलाइ भएको बताइएको छ ।

 

दक्षिण पश्चिम राज्य न्यु मेक्सिको लगायत केही दक्षिणी तथा पुर्वी राज्यमा आगामी दिनहरुमा भिषण बर्षा हुने पुर्वानुमान गरिएको छ । प्रतिकुल मौसमका कारण नयाँ बर्षमा घुमफिर गर्न निस्कनेहरुको योजना सफल हुन कठिन हुने देखिएको छ । लसियानामा चट्याँगबाट ५८ बर्षिय एक महिलाको मृत्यु भएको डब्ल्युडीएसयु टेलिभिजनले जनाएको छ । हिमपातका कारण कान्ससमा अन्तराष्टिय राजमार्गमा ठुलो सडक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

 

उत्तरी डाकोटामा दुर्घटनामा पनि एक ब्यक्तीको मृत्यु भएको छ । विहिबार मात्र प्रतिकुल मौसमका कारण ६हजार ५ सय भन्दा धेरै उडान ढिलो भएको र ८ सयभन्दा धेरैको उडान रद्द गर्नु परेको उडान सम्बन्धी वेबसाइटले जनाएको छ । डाकोटा, मिनिसोटा, कान्सास र आइओवामा विहिबार कयौं महत्वपुर्ण सडक बन्द भएपछि नागरिकहरुको आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्