भोकमरी सूचकाङ्क : नेपाल ७३औँ स्थानमा



काठमाडौँ : विश्वव्यापी भोकमरीसम्बन्धी प्रतिवेदन, २०१९ ले नेपालको भोकमरीको अवस्था ‘अति भयावह’ र ‘भयावह’ स्थितिमा नरहेको जनाएको छ । काठमाडौँमा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार दक्षिण एसियाका भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानभन्दा नेपालको खाद्य तथा पोषणको स्थिति राम्रो रहेको तर श्रीलङ्काभन्दा केही कमजोर रहेको छ । भुटान र माल्दिभ्स भने अध्ययनमा नसमेटिएको जनाइएको छ ।

वेल्टहङ्गरहिल्फे नामक अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा ‘जैविक विविधता, अनुुसन्धान तथा विकासका लागि स्थानीय पहल’ (ली–बर्ड)द्वारा नेपालमा सार्वजनिक गरिएको प्रतिवेदनले भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक र अति भयावह भोक गरी पाँच तहमा स्तरीकरण गरेको छ । प्रतिवेदनअनुसार नेपालको स्थिति ‘गम्भीर प्रकृति’अन्तर्गत पर्दछ । जीएचआई सूचकाङ्कका लागि मुलुकहरूको स्थिति अध्ययन गर्दा त्यहाँ रहेको अल्पपोषित जनसङ्ख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बालमृत्युलाई प्रमुख आधार बनाइएको छ । यी चारै प्रकारका तथ्याङ्कीय विवरण उपलब्ध हुन सकेका ११७ वटा मुलुक मात्र यस अध्ययनमा समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी सूचकाङ्क (जीएचआई) मा नेपाल ७३औँ स्थानमा छ भने छिमेकी मुलुकहरू चीन र भारत क्रमशः २५औँ र १०२औँ स्थानमा छन् । अध्ययनमा समेटिएका मुलुकहरूमध्ये ‘मध्य अफ्रिकी गणतन्त्र’ सबैभन्दा पछाडि अर्थात् ११७औँ स्थानमा रहेको र ‘अति भयावह’ अवस्थाबाट गुज्रिरहेको छ । चाड, माडागास्कर, यमन र जाम्बियाको अवस्था ‘भयावह’ वर्गमा परेको छ । प्रतिवेदनमा वर्गीकरण गरिएका विश्वका ११७ मुलुकमध्ये ४३ वटा मुलुकको भोकमरीको अवस्था ‘गम्भीर’ छ भने ४६ मुलुकहरूमा भोकमरी ‘न्यून’ रहेको छ । दक्षिण एसिया र दक्षिण अफ्रिकी सहारा क्षेत्रमा भोकमरीको स्थिति विश्वका अन्य क्षेत्रमा भन्दा बढी रहेको पाइएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा पछिल्लो दुई दशकको अवधिमा विश्वव्यापी रूपमै भोकमरी र न्यून पोषणमा कमी ल्याउन महŒवपूर्ण प्रगति हासिल भए तापनि भोकमरी न्यूनीकरणको यात्रा लामो र चुनौतीपूर्ण नै रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्