इन्डो–प्यासिफिक नीतिमा सकारात्मक हुन अमेरिकी आग्रह



काठमाडौं : अमेरिकाले नेपाललाई इन्डो–प्यासिफिक (आईपी) नीतिमा सकारात्मक हुन आग्रह गरेको छ। यो कुनै रणनीति नभई अमेरिकाको आफ्नै नीति भएको भन्दै अमेरिकाले नेपाललाई अन्योल हटाउन आग्रह गरेको हो।

एसिया–प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग बिहीबार गरेको छुट्टाछुट्टै भेटमा आईपी कानुनी शासन, खुलापन, स्वतन्त्रता र विधिको शासनसँग सम्बन्धित रहेको बताए।

उनले ठूला मुलुकबाट साना मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव नभएको स्पष्ट पारे। ‘आईपी नीति कसैविरुद्ध छैन। यसले करोडौं मानिसका लागि काम गरेको छ,’ सहायक मन्त्री स्च्रिभरलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘यस क्षेत्रमा भएको सुरक्षा, स्वतन्त्रता र खुलापनले गर्दा अन्य कैयन् मुलुक विकासको शिखरमा पुगेका छन्।’

आईपीमा नेपालले हस्ताक्षर गरेर सहभागी हुनुपर्ने प्रावधान नभएको उनको भनाइ थियो। उनले यसमा स्पष्ट पार्न खुला बहस हुनुपर्ने बताएका थिए। सहायक मन्त्री स्च्रिभरले नेपाली अधिकारीहरूसँग भने, ‘इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्यपछि अँगाल्दै आएको नीति हो। यो कसैका विरुद्ध छैन।’

स्च्रिभर अमेरिकी रक्षा मन्त्रालयले अघि बढाएको आईपी नीतिअन्तर्गतको विभिन्न विषयमा छलफल गर्न तीनदिने भ्रमणका लागि बुधबार नेपाल आएका हुन्। अमेरिकाले इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) नभनी अहिले आईपी नीतिका रूपमा व्याख्या गर्दै आएको छ। यसलाई अमेरिकाले सहकार्य नीतिका रूपमा समेत अथ्र्याएको छ।

पछिल्लो समय अमेरिकाले अन्य मुलुकप्रतिको नीतिमा भन्दा पनि आफ्नो मुलुकको पूर्वाधार र नवीनतम विकासमा जोड दिने लक्ष्य लिएको छ। चीनसँग व्यापार खलबलिएपछि व्यापारका लागि साना बजार पनि अमेरिकी नजरमा परेका छन्। सहायकमन्त्री स्च्रिभर आईपी रणनीतिकार मानिन्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्