भवन बनाउन २५ लाखको जग्गादान



दमौली: तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गरेकी छन् । 

 

गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गरेकी हुन् । उनी सोही आमा समूहको अध्यक्षसमेत हुन् । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर नजिकैको जग्गा आमा समूहको नाममा मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेशन पास गरिदिएको आमा समूहका सचिव गीता बाँस्तोलाले जानकारी दिइन् । 

 

आमा समूहको भवन नहुँदा बैठक बस्नका लागि कसैको घर वा चौर चहार्दै हिँड्नुपरेको अवस्थाको अन्त्य गर्न आफूले जग्गादान दिएको क्षेत्रीले बताइन् । आमा समूहको नाममा जग्गा प्राप्त भएपछि अब भवन निर्माणको काम शुरु गरिने समूहका सचिव बाँस्तोलाले जानकारी दिइन् ।

 

आमा समूहले देउसीभैलो खेलेर रु तीन लाख सङ्कलन गरेको छ । भवन निर्माणका लागि अपुग रकम स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समेत माग गरिने र स्थानीयवासीबाट समेत दान सङ्कलन गरिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्