विपन्न परिवारलाई न्यानो लुगा वितरण



लहान: चिसो बढ्दै गएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्बर २, ३ र ५ का हरवा चरवा परिवारका गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

 

सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले ती तीनवटै वडाका हरवा चरवा ९१ घर परिवारलाई न्यानो लुगा वितरण गरेको हो ।

 

श्रीपुर्राज सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक शारदा चौधरीका अनुसार तीनवटै वडामा रहेका हरवा चरवा परिवारका नौ जना गर्भवती महिला, १३ जना प्रसूति आमा र बच्चा, १२ अपाङ्गता भएका, १९ ज्येष्ठ नागरिक तथा जन्मेकादेखि पाँच वर्षसम्मका ८९ बालबालिकालाई न्यानो लुगा ब्ल्याङ्केट, म्याट तथा स्वीटर, ट्राउजर, टोपीलगायतका सामान वितरण गरिएको छ ।

 

यस्तै विद्यालयभन्दा बाहिर रहेका हरवा चरवा परिवारका बालबालिकालाई ब्याग र सुइटरसमेत वितरण गरिएको कार्यक्रम संयोजक चौधरीले बताए । शम्भुनाथ नगरपालिका–३ डङ्गराहीस्थित स्वास्थ्यचौकी प्रागङ्णमा आयोजित न्यानो लुगा वितरण कार्यक्रममा शम्भुनाथ नगरपालिका–२ का वडाध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ३ का वडाध्यक्ष सत्रुधन चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरीलगायतले न्यानो लुगा वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्