‘अनागरिक’ बनाउने प्रपञ्चविरुद्ध नेपाली भाषीद्वारा दिल्लीमा विरोध प्रदर्शन



काठमाडौं : भारतको आसामसहित पूर्वोत्तरका नेपाली भाषीहरुले नयाँ नागरिक विधेयक तथा राष्ट्रिय नागरिक रजिष्टरले आफूहरुलाई अनागरिक बनाउन लागेको भन्दै त्यसको विरोध गरिरहेका छन् । प्रदेश हुँदै विरोधको सिलसिलामा आसामी नेपाली नागरिकहरु विहीवार दिल्ली पुगेरसमेत विरोध प्रदर्शन गरेका छन् । भारत सरकारले नयाँ नागरिकता विधेयक र राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) लागू गरी भारतमा रहेकाहरुलाई आफू भारतीय नागरिक भएको प्रमाण पेश गर्न भनेपछि यो समस्या सिर्जना भएको हो ।

पहिले रासन कार्ड तथा भोटर लिष्ट जस्ता प्रमाणहरु भए भारतीय नागरिक मानेर नागरिक सरह अधिकारहरु उपयोग गर्न दिइरहेको भारत हाल भारतीय जनता पार्टीको सरकार निर्माण भएपछि नागरिकताको विषयलाई लिएर निकै कडाइ गरिरहेको छ ।

पछिल्लो चरणमा विशेष गरी बांगलादेशसँग सीमा जोडिएको क्षेत्रमा दिल्लीले निकै कडाइ गरिरहेको छ । भारतीय नागरिक र बांगलादेशी नागरिक छुट्याउने बहानामा बनाएको नयाँ नागरिकता विधेयक र राष्ट्रिय नागरिक रजिष्टरले नेपाली भाषी भारतीयहरुलाई निकै दुःख दिइरहेको छ ।

लाखौं नेपालीहरु यसको मारमा परेपछि उनीहरु दिल्लीमा विरोध प्रदर्शन गर्न पुगेका हुन् । उनीहरुको भनाइ छ– ‘हामी हाम्रो माटोमा जिइरहेका छौं । यो भूगोल भारत अन्तर्गत रहेका नेपाली भाषीहरुको हो । हामी हाम्रै भूमिमा अनागरिक हुन तयार छैनौ ।’

पछिल्लो चरणमा अखिल आसाम गोर्खा छात्र संघ (आग्सु)को आयोजनामा पूर्वोत्तर भारतका नेपाली भाषीले दिल्लीमा धर्ना र विरोध प्रदर्शन गरेका छन् । उनीहरुको माग छ, गत अगस्ट अन्तिम साता सार्वजनिक भएको एनआरसीको अन्तिम सूचीमा छुटेका करिब एक लाख नेपाली भाषीलाई समेटी आदिवासीको दर्जा दिनुपर्छ ।

आफ्ना जायज मागहरुको सम्बोधनका लागि निरन्तर शान्तिपूर्ण विरोध प्रदर्शनमा रहेका नेपालीहरु राज्य सरकारलाई यी समस्याहरु दर्जनौपटक सुनाउँदा पनि नसुनेपछि उनीहरुलाई दिल्ली नै पुग्नुपर्ने बाध्यता आइलागेको हो ।

हाल आफ्ना हकअधिकारको मागमा आसाम गोर्खा सम्मेलन भारतीय गोर्खा परिसङ्घ, आसाम गोर्खा सम्मेलन, नेपाली साहित्य सभाजस्ता संगठनका साथै त्यहाँ क्रियाशील १३ वटा नेपाली भाषी तथा जातजातिसँग सम्बन्धित संस्था एकताबद्ध भएर लागिपरेका छन् ।

दिल्लीमा गरिएको धर्ना र विरोध प्रदर्शनका साथै नेपाली भाषी आसामीहरुले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पनि भेटेर आफ्ना मागहरुको सम्बोधनका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्