नेपालले माल्दिभ्सलाई दियो १६४ रनको लक्ष्य



काठमाडौं : तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जीतका लागि १६४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रनको योगफल बनायो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । कुल १६ बल खेलेका उनले छ चक्का र दुई चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् ।

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै दुई चौकाको मद्दतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९÷१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे । बलिङतर्फ माल्दिभ्सका लिम शफिगले तीन तथा अमिल मौरुफले दुई विकेट हात पारे ।

साग क्रिकेटको फाइनल पुग्ने सम्भावनालाई कायमै राख्न पनि नेपाललाई आज माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ । यसअघि खेलेका दुई खेलमा नेपालले एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । अहिले माल्दिभ्स जवाफी ब्याटिङामा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्