नयाँ सभामुख कहिले ?



काठमाडौं : संघीय संसदको प्रतिनिधिसभाको सभामुख चयन गर्न राजनीतिक दलहरु मौन बसेका छन् । राज्यको पाँचौं वरियता क्रममा रहेको सभामुख पद बिगत दुई महिनादेखि रिक्त रहे पनि त्यस विषयमा राजनीतिक दलले छलफल गरेका छैनन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । सभामुख पद विगत दुई महिनादेखी रिक्त छ । नयाँ सभामुखको हुने भन्ने सर्वाधिक चर्चाको विषय भएपनि राजनीति दलले त्यसको निर्णय गर्न चासो दिएका छैनन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले पार्टीमा यस विषयमा कुनै छलफल वा निर्णय नभएको बताए । पार्टीमा छलफल नभएकाले यस विषयमा केही बोल्न नमिल्ने उनले बताए ।

‘अहिले पार्टीमा यस बिषयमा छलफल भएको छैन’ नेम्वाङले भने, ‘पहिला पार्टीमा छलफल होस्, अनि भनौला, अहिले बोल्न मिल्दैन ।’

तत्कालिन एमाले र माओवादी केन्द्रको वामगठबन्धनबा प्रतिनिधिसभामा निर्वाचित महरा सभामुखमा निर्वाचित भएका थिए । राजीनामा दिइसकेका महरा र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे एउटै पार्टी नेकपाका हुन् । सभामुखले राजिनामा दिइसकेपछि सो पद आफूले पाउनुपर्ने दाबी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गर्दै आएको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नसक्ने उल्लेख छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सभामुख चयन विषयमा सत्तारुढ दलले प्रतिपक्षी दलसँग छलफल नगरेको बताए । सत्तारुढ दल भएकाले नेकपाले सभामुख चयनका लागि पहल गर्नुपर्ने भए पनि उसले खासै चासो नदेखाएको आरोप उनले लगाए ।

‘सत्तारुढ दल नेकपाले सभामुख चयनका लागि चासो नै दिएन’ खाँडले भने, ‘प्रतिपक्षी दलसँग कुनै किसिमको छलफल अहिलेसम्म गरेको छैन ।’

विधेयकहरु प्रमाणित गर्ने विषयमा सभामुखको आवश्यक्ता पर्ने बताउँदै उनले सभामुख पद रिक्त हुदा विधेयकहरु अलपत्र जस्तै परेको बताए । संसद लामो समयसम्म सभामुख विहीन बन्दा त्यसको प्रभाव विधेयक प्रमाणितदेखि अन्य काममा समेत परिरहेको खाँडले बताए ।

नेकपा प्रमुख सचेतक देव गुरुङले पार्टी भित्र अहिले सभामुख चयन विषयमा छलफल नभएको बताए । अहिलेसम्म कहिकतै छलफल भएको आफूलाई जानकारी नभएको बताउँदै उनले आफूले जानकारी पाएपछि भन्ने बताए ।

‘अहिलेसम्म पार्टीमा सभामुख चयन विषयमा छलफल भएको छैन, कहिकतै छलफल भएको जानकारी मलाई छैन’ गुरुङले भने, ‘पार्टीले निर्णय गरेपछि म भन्छु, अहिले नै के भनौं, मलाई कसैले केही जानकारी गराएका छैनन् ।’

सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले सभामुख आफैले राख्ने दाउमा छ । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइसकेकाले संवैधानिक व्यवस्था अनुसार नेकपाले सभामुख पाउँन सक्दैन् । किनभने उपसभामुख पनि नेकपाकै रहेको छ ।

नेकपा स्रोतका अनुसार नेकपाबाट उपसभामुख भएकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाबाट अर्को नयाँ सभामुख बनाउने तयारी भएको छ । तर तुम्बाहाङ्फेले राजीनामा दिने संकेत नगरेपछि नयाँ सभामुख चयन गर्न नेताहरुलाई सकस परेको छ ।

नेकपा स्रोतका अनुसार नयाँ सभामुख बनाउने विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

तीन साताअघि भएको छलफलमा प्रधानमन्त्री ओलीले सुवाष नेम्वाङ र दाहालले देव गुरुङ र अग्नि सापकोटाको नाम प्रस्ताव गरेका थिए । दुई अध्यक्षबीच नै एकमत हुन नसकेपछि नयाँ सभामुख चयन प्रक्रिया लम्बिएको नेकपा स्रोतको दाबी छ ।

दाहालले गुरुङ र सापकोटाको नाम प्रस्ताव गरेपछि ओलीले यस विषयमा पछि छलफल गर्ने भन्दै प्राथमिकतामा नराखेपछि टुंगो नलागेको हो । विगत एक सातादेखी प्रधानमन्त्री अस्वस्थ भई उपचारका लागि अस्पताल भर्ना भएपछि यस विषयमा छलफल अगाडी बढेको छैन ।

प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन हुने बेलामा व्यवहारिक रुपमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने संकेत गरेका छन् । ‘अहिले नै किन उपसभामुखले राजीनामा दिने ? सभामुख नभएको बेला सभामुखको जिम्मेवारी उपसभामुखले पाउने हो । संवैधनानिक र कानुनी रुपले उहाँले राजीनामा दिनुपर्दैन तर व्यवहारिक रुपमा ठूलो पार्टीको हैसियतले सभामुख पाउनुपर्छ भन्ने हिसावले भन्नुपर्दा त्यसैबेला निर्णय हुन्छ’ केही दिनअघि एक टेलिभिजनको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्