यस्ता छन् निजामती ऐनभन्दा ठूला हाकिमहरु



काठमाडौं : स्थायी सरकारको रुपमा चिनिने कर्मचारी आफूहरुले काम गरिआएको अड्डामा राज जमाएर बसिरहेका छन् । सरकारले कर्मचारी समायोजनपश्चात् समायोजित सबै कर्मचारीहरुलाई आआफ्नो कार्यक्षेत्रमा जान भने पनि उनीहरुले समायोजन पूर्वका आआफ्ना कार्यालयहरु छाडेका छैनन् ।

कर्मचारीहरुले आफूहरुमाथि अन्याय गरिएको भन्दै गुनासो गरिरहेका छन् भने जनप्रतिनिधिहरु भने कर्मचारीले कर्मचारी ऐनको नै धज्जी उडाइरहेको बताएका छन् । कर्मचारीहरु मनपरि एउटै कार्यालयमा थुप्रिएर बस्ने र जनप्रतिनिधिहरुलाई नटेर्ने गरिरहेका छन् ।

त्यसो त निजामती सेवा नियमावलीअनुसार दुई वर्षको अन्तरालमा कर्मचारीहरुको कार्यक्षेत्रमा हेरफेर भैरहनु पर्दछ । उनीहरुले कार्यक्षेत्रमा हुने गरेको स्थानान्तरणलाई स्वाभाविक रुपमा लिनु पर्दछ ।

कुनै पनि नियम र कानुनको पालना माथिल्लो तहबाट गरिनु पर्दछ । तल्लो तहका लागि बाध्यकारी हुने नियम माथिल्ला तहका कर्मचारीका लागि उन्मुक्ति हुन सक्दैन । तथापि, समायोजन पश्चात् आफ्नो कार्यक्षेत्रमा नगएर आसन जमाएर बस्ने र अटेरी गर्ने कर्मचारीहरुमा उपल्लो तहका सहसचिव÷उपसचिवहरु नै रहेका छन् ।

विभिन्न कार्यालयका साथै बालाजुस्थित गुणस्तर नियन्त्रण विभागका प्रमुख विश्वबाबु पुडासैनी ५ वर्षदेखि सरुवा र स्थानान्तरणमा परेका छैनन् । यसअघि केही गडबडी गरेर यहाँबाट अन्यत्र सरुवामा परेका रामआधार साह विज्ञान मन्त्रालयबाट जगेडा मन्त्रालयहुँदै प्रदेशको भौतिक योजना मन्त्रालयसम्म पुगिसकेका छन् ।

कुनै न कुनै घटना घटाएर चर्चामा आइरहने साह प्रदेशमा पुगेर पनि अछुतो रहन सकेका छैनन् । उनी त्यहाँ आफ्नै कार्यालय सहयोगीमाथि यौनजन्य हिंसा गरेको आरोपमा चर्चा बटुलिरहेका छन् ।

यीसँगै चर्चामा रहने अर्का अब्बल उपसचिव रामकृष्ण पन्थी पनि पाँचवर्षदेखि संघीय संसद् सचिवालयअन्तर्गत निर्माण तथा व्यवस्थापन कार्यालयमा आसन जमाएर बसिरहेका छन् । जनप्रतिनिधिहरुको केही नलागे पनि पन्थीले महालेखा नियन्त्रक गोपीनाथ मैनालीलाई रिझाएपछि आसन कब्जा गर्न सफल भइरहेका छन् ।

तथापि उनी कुनै काण्डबाट अछुतो भने रहेका छैनन् । उनले किन्दै नकिनेको मसलन्द प्रधानमन्त्री निवासदेखि शीतल निवाससम्म उपलब्ध हुने गरेको छ । यस्तो कीर्ते काममा माहिर उनीमाथि छानबिन गर्न मन्त्रालयले छानबिन समितिसमेत् निर्माण गरेको छ ।

छानबिन समिति नै छानबिनको जालोमा पर्ने भएपछि पन्थीमाथिको कारबाही अघि बढाउन सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले गोपीनाथ मैनालीलाई तारन्तार फोन लगाएर रिङटोन सुनाइरहन्छन् । तर मैनाली भने रिङटोनको धुन आउने वित्तिकै मस्तीका साथ सुनेर आनन्द लिइरहन बानी परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्