नेकपा एकता कार्यदललाई बालुवाटार बोलाइयो



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता  कार्यदललाई आज बालुवाटार बोलाएका छन् । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन दिउँसो ३ बजे बालुवाटार बोलाइएको हो ।

 

पुस मसान्तभित्र एकीकरण सक्ने गरी नेकपाले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल,  वर्षमान पुन र रघुवीर महासेठ रहेको सदस्य रहेका छन् ।

 

कार्यदलले पोलिट्ब्युरोका लागि नाम सुझाव दिन सक्नेछ भने, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिनेबारे गृहकार्य गर्ने नेताहरूले जानकारी दिएका छन् । जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेर केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार पार्नेछ भने जिल्ला अध्यक्ष र सचिवको कार्यविभाजन पनि टुंग्याउने क्षेत्राधिकार तोकिएको छ ।

 

स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । नवगठित कार्यदलले जिल्ला र स्थानीय तहको एकीकरणको काम टुंग्याउने गरी प्रस्ताव तयार पार्ने अधिकार पाएको नेता योगेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्