यी हुन् नेपालका १० पहिलो महिला : अब्बल र उदाहरणीय



काठमाडौं : पछिल्लो समय उच्च पदमा पुग्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । १० वर्षसम्म चलेको माओवादी बिद्रोह र ०६२/०६३ सालको जनआन्दोलनपछि महिला सहभागीता ह्वात्तै बढेको छ ।

उच्च ओहोदामा धेरै महिलाले स्थान पाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन अन्य निकायमा पनि महिलाको उपस्थिति राम्रो हुँदै गएको छ ।

अहिले मुलुकको शीर्ष स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् । यसअघि प्रधानन्यायधीश, सभामुखलगायतका विभिन्न निकायका प्रमुखमा महिला पुगिसकेका छन् ।

परम्परागत रुपमा पुरुषले गर्ने धेरै काम महिलाले झन्झन् राम्रोसँग गर्न थालेका छन् । राजनीतिक नेतृत्वमा महिलाहरु अब्बल बन्दै गएका छन् । आज हामीले पहिलो महिलाका रुपमा स्थापित दर्जनौँ महिला मध्ये १० जनाको चर्चा गर्छौँ ।


राष्ट्रपति: विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति हुन् । उनी दुई पटक राष्ट्रपति पदमा पुग्ने पहिलो भाग्यमानी महिला पनि हुन ।

भण्डारीको जन्म २०१८ असार ५ भोजपुरमा भएको हो । उनी एक राजनीतिज्ञ तथा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइने ।

तत्कालिन नेकपा एमालेका महासचिव स्व मदन भण्डारीकी श्रीमतीसमेत रहेकी विद्या यसअघि जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भइसकेकी छन् ।

भण्डारी सन् २०१६ का संसारका शक्तिशाली महिलाको सूचीमा ५२औँ स्थानमा थिइन् । अहिले उनी गणतन्त्र नेपालको राष्ट्रपतिको भूमिकामा छन् ।

सभामुख : ओनसरी घर्तीमगर

ओनसरी घर्तीमगर नेपालको पहिलो महिला सभामुख हुन् । उनी २०७२ असोज २९ गतेदेखि ०७४ माघ ५ गतेसम्म सभामुख भएकी थिइन् ।

ओनसरी माओवादी जनयुद्धकी कमाण्डर पनि हुन । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन् ।

रोल्पाको जंकोट १ माडीचौरमा निम्न मध्यमवर्गीय मगर परिवारमा २०३४ कार्तिक २८ गते उनको जन्म भएको हो ।

२०४६ साल देखि राजनीतिमा लागेकी मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुन् ।

ओनसरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-५ की अध्यक्ष पनि हुन् ।

प्रधानन्यायधीश : सुशिला कार्की

सर्वोच्च अदालतको प्रधानन्यायधीश बन्ने पहिलो महिला सुशिला कार्की हुन । उनी २०७३ असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायधीश बनिन् ।

कार्कीको जन्म विस २००९ जेठ २५ गते मोरङ जिल्लाको शंकपुर विराटनगरमा भएको हो । कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छन् । उनी विभिन्न प्रकरणमा विवादमासमेत आइन् ।

महेन्द्र मोरङ क्याम्पसबाट बि.ए. गरेकी थिइन् । वनारस हिन्दु विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा एम.ए. गरेकी छन् । सुरुवातमा उनी महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षण पेशामा आवद्ध थिइन् ।

२०३५ सालबाट वकालत सुरु गरेकी उनी २०६६ सालमा सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा प्रवेश गरिन् । उनी २०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायधीश बनिन् ।

अहिले उनी विभिन्न अभियानमा सक्रिय छन् ।

पार्टी अध्यक्ष : पम्फा भुषाल

२०१९ साल साउनमा अर्घाखाँची किमडाडा आँपखोलामा पम्फा भुसालको जन्म भएको हो । ‘विद्युत’ उपनामले चिनिने भुसालको ५ दिदीबहिनी र एक भाइ छन् । उनी साहिँली हुन् ।

विक्रम संवत २०३३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी भूसाल ०५० सालमा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनिन् ।

२०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बनेकी भुषाल अहिले सत्तारुढ दलकी स्थायी समिति सदस्य हुन् । पूर्वमन्त्रीसमेत रहेकी भुषालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

पहिलो संविधानसभा चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणााली अन्तर्गत ललितपुर ३ बाट विजयी संविधानसभा सदस्य समेत भएकी भुसाल अहिले पनि ललितपुरबाट प्रत्यक्ष निर्वाचित सांसद छन् ।

एआइजी: डा. दुर्गा थापा (पुन)

नेपाल प्रहरीमा डा. दुर्गा थापा (पुन) पहिलो महिला एआइजी हुन् । यसअघि पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूको अवकाश सोही पदबाटै भएको थियो ।

दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम भएकी थिइन् ।

कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाइस्कुलमा अध्ययन गरेकी उनी काठमाडौंको कन्या माध्यामिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।

अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि उनले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी (विडिएस) पढ्ने मौका पाएकी थिइन् । त्यसपछि दक्षिण भारतको चेन्नइबाट एमडीएस गरिन् ।

०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्पेक्टरको रुपमा प्रवेश गरेकी थापा अहिलेसम्म महिलाले प्राप्त गरेको उच्च तहमा पुगिन् ।

महिला सिडिओ : उषा नेपाल

उषा नेपाल २०४६ सालको परिवर्तनपछि बनेको अन्तरिम सरकारमा भक्तपुरमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडीओ) बनेकी थिइन् ।

स्थानीय विकासबाट आपूर्ति हुँदै गृह मन्त्रालय पुगेपछि उनी पहिलो महिला सिडिओ बनेकी हुन् । भक्तपुरपछि उनी ललितपुर, काठमाडौंं, पर्सा, बाँके, सोलुखुम्बु, मुस्ताङसम्म सिडिओ पदमा काम गर्न पुगिन् ।

सरकारी सेवाबाट रिटायर्डपश्चात् पनि २०६४ को निर्वाचनमा निर्वाचन आयोगको आयुक्तमा उनी नियुक्त भइन् । आयुक्त हुने पहिलो महिला पनि उनी नै बनिन् । अहिले सेवा–निवृत्त जीवन बिताइरहेकी छिन् ।

अहिलेसम्म आइपुग्दा ७ जना महिला सिडिओ बनिसकेका छन् ।

उपप्रधानमन्त्री : शैलजा आचार्य

स्व. शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन् । उनको जन्म ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन् ।
आचार्यको निधन विक्रम संवत २०६६ साल जेठ २९ गते उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो ।

०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा शैलजा देशकै पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् ।

प्रदेश प्रमुख: अनुराधा कोइराला

अनुराधा कोइराला पहिलो महिला प्रदेश प्रमुख हुन् । देश संघीयतामा गएपछि कोइरालालाई २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म प्रदेश ३ को प्रमुख बनिन् ।

उनलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माइती नेपाल नामक उनी आवद्ध गैरसरकारी संस्था छ ।

शाही शासनकालमा उनी महिला तथा समाजकल्याण मन्त्री बनेकी थिइन् । अनुराधाको जन्म सन् १९४९ को १४ अप्रिलमा ओखलढुँगामा भएको थियो । उनी अहिले समाजिक क्षेत्रमा सक्रिय छन् ।

सगरमाथा ओरोही : पासाङ ल्हामु शेर्पा

स्व.पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरिन् ।

शेर्पाको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के–४ मा २०१७ साल मंसिरमा भएको थियो ।

नेपाल सरकारले उनलाई २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको निधन ३२ वर्षको उमेरमा २०५० साल वैशाख १० गते सगरमाथा आरोहण गरेकै दिन भएको थियो ।

विश्व च्याम्पियन : मीरा राई

भोजपुरकी मीरा राई राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय स्तरमा च्याम्पियन हुन सफल नेपाली महिला हुन् । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविकाको रुपमा उनले आफ्नो नाम दर्ज गराएकी छन् ।

माओवादी पूर्वलडाकु रहेकी उनी सेना समायोजन क्रममा अयोग्य ठहरिएकी थिइन् ।

सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो भएर उनले नेपालको झन्डा फहराइन् ।

मिरा निरन्तर १२ घन्टा ३२ मिनेट १२ सेकेन्ड दौडेर विश्व च्याम्पियन बनिन् ।

हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटलीमा ५७ किलोमिटर र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेर उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा परेकी छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्