छूवाछूतकाे नाममा वृद्ध कुटिए



दाङ : खेतमा पानी लाउने विषयमा विवाद हुँदा जातीय लान्छना लगाउँदै तुलसीपुरमा एक वृद्ध कुटिएका छन्।

 

तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई कुटपिट गरेका हुन्।

 

पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट भएको कामीको भनाइ छ। ‘कामीले पानी छुनु हुन्न’ भन्दै कुटपिट गरे,' पीडित भन्छन्, 'खेतमा पानी चहार्ने पालो मेरो थियो, म सहित ४ जना मिलेर मोहोडाबाट खोला थुनेर पानी ल्याएका थियौं। मेरो पालोमा पन्थीले आफ्नो खेतमा हालेपछि मैले पानी खोलेर मेरो खेतमा हाल्न खोजको थिएँ।'

 

‘कामीले पनि खेतमा पानी हाल्ने?' भन्दै फरुवाले ढाडमा हिर्काएको उनले बताए। पन्थी परिवारले आफूलाई पटकपटक जातकै आधारमा कुटपिट गर्दै आएको कामीको गुनासो छ।

 

पटकपटक कुटपिट हुने र गाँउघरमै मिलाउने काम भइरहेको भए पनि यस पटक न्यायको माग गर्दै उनले अदालतमा मुद्दा दर्ता गर्ने बताएका छन्। 

 

दुधरासस्थित अस्थायी प्रहरी चौकीले कुटपिट भएको जुरुरी परेको र छानबिन भइरहेको बताएको छ। कुटपिट गर्ने पन्थी भने फरार छन्।

प्रतिक्रिया दिनुहोस्