पर्सा प्रहरीद्वारा ठूलो परिमाणमा चरेस बरामद



वीरगन्ज: जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा बरामद गरेको लागूऔषध चरेससहित ट्रक चालकलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

 

प्रहरीले वीरगन्ज महानगरपालिका ३१ बेल्वास्थित परवानीपुरदेखि मिलनचोक जाने सडकबाट लागूऔषध १६० किलो चरेससहित ट्रकका चालक मकवानपुर जिल्लाको हेटौंडा १२ पद्मपोखरी निवासी २९ वर्षीय सागर बललाई नियन्त्रणमा लिएको थियो ।

 

बलले मनहरीबाट लागूऔषध चरेस ना४ख २९८५ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

 

ट्रकको बडी र ट्रकको केबिनको बीचभागमा बनाइएको फल्स बटममा लागूऔषध चरेस लुकाई ल्याइरहेको अवस्थामा विशेष सुराकीका आधारमा ट्रकसहित बललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

 

लागूऔषधसहित पक्राउ परेका बललाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । ‘लागूऔषध चरेसका मुख्य कारोबारीको पहिचान भइरहेको छ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘पक्राउ परेका बलले विगत लामो समयदेखि ट्रकमा बनाइएको फल्स बटममा लागूऔषधलगायत प्रतिबन्धित मालसमान ओसार्ने काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्