वीरगन्ज कारागारमा उपचार केन्द्र सुचारु 



वीरगन्ज : वीरगन्ज कारागारमा लगभग पाँच वर्ष पहिले निर्माण गरिएको उपचार केन्द्र सञ्चालनमा आएको छ ।

कारागार परिसरमा निर्मित आर्चाय तुलसी स्वास्थ्य उपचार केन्द्र आइतबारबाट सञ्चालन भएको हो । 

लामो समयदेखि प्रयोगविहिन रहेको उपचारकेन्द्र कैदीबन्दीको उपचारमा सहज हुने लक्ष्यका साथ सुचारु गरिएको छ । 

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं उद्योगी अशोक वैद्यले संयुक्त रूपमा उपचार केन्द्रको उद्घाटन गरे । 

कैदीबन्दीलाई उपचारका लागि अन्य अस्पताल लैजान समस्या भइरहेको अवस्थामा उपचार केन्द्र सञ्चालनमा आएपछि सहज हुने निमित्त कारागार प्रमुख भरत भण्डारीको भनाइ छ । 

कारागारमा एकजना मेडिकल अधिकृत र एकजना स्वास्थ्य सहायकको दरबन्दी  तोकिएको छ । तर, अहिले दुबै दरबन्दी खाली छ । 

अहिलेलाई स्थानीय अस्पतालमा कार्यरत ४ जना चिकित्सकले दैनिक ३ घण्टाका दरले कारागारभित्र सेवा दिने व्यवस्था मिलाइएको भण्डारीले बताए । 

उद्योगी अशोक वैद्यले कारागारभित्र निर्माण गरेको उपचार केन्द्रको २०७१ साल फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उद्घाटन गरेका थिए । 

लामो समयसम्म उपचारकेन्द्र सञ्चालनमा नआएपछि भवन निर्माणमा सहयोग गर्ने दाता र सरोकारवालाले चर्को विरोध गरेका थिए । सम्बन्धीत पक्षको विरोधपछि कारागारभित्र उपचारकेन्द्र सञ्चालन गरिएको हो । 

हाल कारागारमा एक सय महिला सहित १२ सयभन्दा बढी कैदीबन्दी छन् ।

 

प्रतिक्रिया दिनुहोस्