अपराधसंहिता र डण्डाले तह लगाउन सकेन छाउपडी



अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती छाउगोठमा मृत्यु भयो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनी बिहान अबेरसम्म नदेखिएपछि छाउगोठमा हेर्दा उनको मृत्य भइसकेको थियो ।

त्यो खबर आफन्तहरुले प्रहरीलाई गरेनन् । बरु गाउँमा हल्ला भएपछि र प्रहरीकहाँ खबर पुगेपछि प्रहरी आफै त्यहाँ आए । प्रहरीको अपराध अनुसन्धान टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारी उनको शब जिल्ला अस्पताल पु‍र्याएर पोस्टमार्टम गरी घरपरिवारलाई जिम्मा लगाइयो ।

यस घटनालाई लिएर अहिलेसम्म कसैले पनि लिखित उजूरी दिएका छैनन् । माइती पक्षले पनि उजुरी दिन मानेका छैनन् । तर प्रहरीले भने मृतक पार्वतीलाई छाउगोठमा जान बाध्य पारेको हुनसक्ने आरोपमा उनका जेठाजु छत्र रावतलाई हिरासतमा लिएको छ ।

भर्खरै निर्माण गरिएको मुलुकी अपराधसंहिता ऐनले छाउपडीलाई दण्डनीय बनाएपछि रावत पहिलो पटक अनुसन्धानको दायरामा तानिएका छन् । सरकारी अपराध संहिताको कुरा एकातिर र स्थानीयहरुको छाउपडी प्रथाप्रतिको मनोविज्ञान अर्कातिर हुन जाँदा जेठाजुलाई पक्राउ गरिएको घटनाले अछाम र सुदूर पश्चिमभर मिश्रित प्रतिक्रिया आइरहेको छ ।

नगरपालिकाले छाउगोठ भत्काउने अभियान चलाए पनि स्थानीय जनताको मनमस्तिस्कबाट छाउगोठसहितको छाउप्रथा भने भत्काउन सकेको देखिदैन । यसका लागि थप जनचेतनाको जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्