क्रिकेटको सफलतापछि राजनीतितर्फ मोर्तजा



एजेन्सी : बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मोर्तजा राजनीतिमा प्रवेश गरेका छन् । बंगलादेशको संसदीय निर्वाचनमा मोर्तजा भारी मतले विजयी भएका छन् । 

मोर्तजाले प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिगबाट जितेका हुन् । उनले आफ्ना प्रतिद्वन्दीलाई २ लाख ६६ हजार भन्दा बढी मतान्तरले पराजित गरे । 

आइतबार सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा मोर्तजाले कुल २ लाख ७४ हजार ४ सय १८ मत प्राप्त गर्दा विपक्षी उम्मेद्वार जतिया ओकयाले जम्मा ८ हजार ६ मत मात्रै ल्याएका थिए । 

मोर्तजा सांसद बन्ने बंगालेदशको दोस्रो क्रिकेट कप्तान पनि बनेका छन् । यसअघि पूर्व क्रिकेट कप्तान नैमुर रहमान सांसद बनेका थिए । 

मोर्तजाको पार्टी अवामी लिगले आइतबार सम्पन्न निर्वाचनमा ३ सय ५० संसदीय क्षेत्रमध्ये २ सय ८१ मा जित निकालेको छ । मुख्य विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । 

उसले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको बिबिसीले जनाएको छ । 

बीएनपीका प्रवक्ताले २ सय २१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् । 

मतदान सुरु हुनुभन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए । 

बंगलादेशको निर्वाचनको क्रममा भएको हिंसामा १७ जनाको मृत्यु भएको छ । निर्वाचनमा सुरक्षाको लागि भन्दै झण्डै ६ लाख सुरक्षाकर्मी खटाइएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्