वाइडबडी विमान खरिद घोटालामा पूर्वमन्त्री पनि तानिने 



काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमानमा घोटाला भएको प्रतिवेदन दिएपछि लेखा समितिले पूर्व पर्यटन मन्त्रीलगायत मन्त्रालयका अधिकारीहरूलाई बोलाउने भएको छ । समितिले पूर्व पर्यटनमन्त्रीहरू जीवनबहादुर शाही र दिलनाथ गिरीलाई वाइडबडी खरिदको श्रृंखलाबद्ध घटनाका बारेमा सोधपुछ गर्न बोलाउने भएको हो । 

वाइडबडी खरिद प्रस्ताव शाही मन्त्री भएका बेला भएको हो भने खरिद अनुमति गिरीको कार्यकालमा भएको हो । ‘मन्त्रालयले विमान खरिद अनुमति दिँदा त्यसको आर्थिक र प्राविधिक पक्षका बारेमा कुनै पनि किसिमको अध्ययन गरेको पाइएन । नेपाल वायु सेवा निगमको कमसल र संदिग्ध प्रस्तावलाई सोझै ‘इन्टरटेन’ गरेको पाइयो,’ लेखा समितिका एक सदस्यले भने, ‘त्यसैले त्यतिबेलाका मन्त्रीलाई आवश्यक सोधपुछका लागि बोलाउन लागिएको हो ।’ 

सोधपुछबाट विमान खरिद प्रक्रियामा पूर्वमन्त्रीहरूको संलग्नताबारे पनि प्रस्ट हुने ती सदस्यले दाबी गरे । 

उनले भने, ‘समितिले अहिलेसम्म वायु सेवा निगमका अधिकारीहरूलाई मात्रै केन्द्रमा राखेर अनुसन्धान गरेको छ । तर, घोटालाको गहिराइ बुझ्न तत्कालीन राजनीतिक पदाधिकारीसँग सोधपुछ गर्नैपर्ने भएकाले पूर्वमन्त्री पनि अनुसन्धानको घेरामा आएका हुन् ।’ 

सोधपुछका क्रममा आएका उत्तरको विश्लेषण गरी कार्बाहीको दायरामा पूर्वमन्त्रीसमेतलाई ल्याउने वा नल्याउनेबारे निक्र्योल गरिने ती सदस्यको भनाइ छ । 

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा चार अर्ब ३१ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ ।

उपसमितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा चार अर्ब ३१ करोड घोटाला भएको जनाएको हो । उपसमितिले खरिद प्रक्रियामा संलग्न नेपाल वायुसेवा निगमका कर्मचारीलाई निलम्बन गरेर कारबाही थाल्न पनि निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्