घर भएका सांसदले घरभाडाबापतको रकम फिर्ता गर्ने 



जनकपुरधाम : धनुषा र महोत्तरी आसपास घर भएका सांसदहरुले प्रदेशसभाबाट घरभाडा बापत लिएको रकम फिर्ता गर्ने भएका छन् । 

जनकपुर र जनकपुरनजिकै घर भएका सांसदले पनि प्रदेशसभाबाट घरभाडा बुझेको भन्दै चर्को आलोचना भएको थियो । आलोचनापछि सांसदहरु घरभाडाबापत बुझेको सुविधा फिर्ता गर्ने मनसायमा देखिएका हुन् ।

अधिकांश सांसदले आफूले बुझाएको सम्पत्ति विवरणमा जनकपुर वा छेउछाउमा घर भएको उल्लेख गरेपनि प्रदेशसभाबाट तलब दिँदा घरभाडासँगै जोडेर दिएको स्पष्टिकरण दिएका छन् । 

जनकपुरमै घर भएर पनि घरभाडाबापतको सुविधा बुझ्ने सांसदमा संघीय समाजवादी फोरमका कौशलकुमार यादव र रामआशीष यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सुरिता साह, जयनुल राईन, परमेश्वर साह (प्रमुख सचेतक), जानकी शरण साह, रिना यादव, नेपाली कांग्रेसका राम सरोज यादव, सरस्वति चौधरी, मञ्जुकुमारी यादव, प्रमिला दास र शिवचन्द्र चौधरी तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का किशोरी साह र रामचन्द्र मण्डलको नाम आएको छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा सांसद किशोरी साह लगायतले घरभाडाबापत प्रदेशसभा सचिवालयबाट बुझेको रकम फिर्ता दिने बताएपनि नेकपाकै अर्का सांसद रामचन्द्र मण्डलको धारणा भने फरक छ । 

प्रदेश राजधानीमा घर हुँदैमा घरभाडा बापतको रकम लिन नहुने तर्क गलत भएको उनको कथन छ । प्रदेश सांसदले १० दिन प्रदेश राजधानी, १० दिन निर्वाचन क्षेत्र र १० दिन संघीय राजधानीमा गएर बस्नुपर्ने भएकाले घरभाडाको रकम बुझ्दैमा आलोचना गर्ननहुने उनको तर्क छ ।

प्रदेश २ को प्रदेशसभा सचिवालयले घरभाडाबापत संसदीय दलको नेतालाई मासिक १८ हजार रुपैयाँ, विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्