बर्सेनि दुर्घटना बढ्दो : पाँच वर्षमा ११,७२४ जनाको मृत्यु



काठमाडौं : मंसिर ११ गते दिउँसो १ बजे लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल। बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब २५० मिटर खस्यो। दुर्घटनामा १७ यात्रुको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भयो। १८ यात्रु घाइते भए।

प्रहरीले बस घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान गर्‍यो।

०००

मंसिर १५ गते। बिरामी बाँच्ने आसमा थिए। एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउन तीव्र गतिमा हुइँकिइरहेको थियो। तर, मध्यरात १२ः२० बजे एम्बुलेन्स ट्रकसँग ठोक्कियो।

सुनसरी कोसी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा सातजनाको घटनास्थलमै ज्यान गयो। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ हुइँकिरहेको १च९३६४ नम्बरको एम्बुलेन्स र वीरगन्जबाट पूर्वतर्फ गुडिरहेको ना२ख ९०८२ नम्बरको ट्रक ठोक्किएपछि एम्बुलेन्समा रहेका सबैको मृत्यु भयो।

०००

मंसिर १७ गते गुल्मीको इस्मा गाउँपालिकाबाट २६ यात्रु बोकेर हिँडेको जिप ग्वालीचौरको खौलारामा ट्राफिक प्रहरीको कारबाहीमा पर्‍यो। कारण थियो ओभरलोड।

ट्राफिक प्रहरीले ८ यात्रुलाई यही स्थानमा झारेर जिपलाई पठायो। जिपमा १८ यात्रु थिए। जिपले त्यो लोड पनि धान्न सकेन। ग१ज ५२१९ नम्बरको जिप बडिगाडमा गाउँपालिका–७ मा पुगेर सडकबाट खोलामा खस्यो। १४ जनाको ज्यान गयो।

००

प्रतिदिन हुने सरदर दुर्घटना र यसले मच्चाउने वितण्डाको तथ्यांक हो यो। नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ। एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका छन्।

प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो।

०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो। ०७४/०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो। दुर्घटनामा परी २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको मृत्यु भइसकेको छ।

पछिल्लो समय हरेक वर्ष १३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्। आव ०७१/०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२/०७३ मा १० हजार १३ पुग्यो। ०७३/०७४ मा १० हजार १७८ दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।

०७४/०७५ मा १० हजार ९६५ पुग्यो। ०७५/०७६ मा १३ हजार ३६६ दुर्घटना भए। चालु वर्षको कात्तिकसम्म ५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा परी प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन्। ०७१/०७२ मा ४ हजार ५३, ०७२/०७३ मा ४ हजार १८२, ०७३/०७४ मा ४ हजार २५०, ०७४/०७५ मा ४ हजार १४४, ०७५/०७६ मा ४ हजार ३७६ र ०७६/०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्।

सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल बताउँछन्। ‘दुर्घटना क्रमिक रूपमा नियन्त्रण गर्न सबै सरोकारवाला सबै निकायबीच समन्वय हुन अत्यावश्यक छ,’ उनले भने, ‘क्षमताभन्दा बढी यात्रु बोकेकै कारण ८० प्रतिशत दुर्घटना भएका छन्। सरकारले सुरुमै चालकलाई तीनमहिने तालिम दिनुपर्छ।’

जथाभाबी सडक, मनपरी चालक

सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीले भएका छन्। पछिल्लो तीन वर्ष अवधिमा २५ हजार ८ सय ८८ वटा दुर्घटना चालकको लापरबाहीले भएको छ। आव ०७३/०७४ मा ७ हजार ४८४, ०७४/०७५ मा ८ हजार ४६१ र ०७५/०७६ मा ९ हजार ९४० दुर्घटना चालकको लापरबाहीले भएको प्रहरी तथ्यांक छ।

जथाभाबी खोलिएका सडकले दुर्घटना बढाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव शरदचन्द्र पौडेल बताउँछन्।

‘हामीकहाँ दुर्घटना न्यूनीकरण गर्ने संयन्त्र कमजोर छ। त्यसमाथि बाटोको अवस्था ठिक छैन। जथाभाबी बाटो खोल्ने प्रवृत्ति यहाँ छ’, उनी भन्छन्, ‘जथाभाबी सडक खोल्ने प्रवृत्तिलगायतका विभिन्न कुरा नियमन गरे दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’

सवारीचालक अनुमतिपत्र दिँदा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने पूर्वसचिव पौडेल बताउँछन्। ‘चालक स्वास्थ्यलगायतका कुरामा फिट हुनुपर्छ। अनुमतिपत्र सजिलै दिनु हुँदैन।’

जथाभाबी खोलिएका कमजोर सडकमा हुने तीव्र गतिले पनि दुर्घटना बढाएको देखिन्छ। पछिल्ला तीन वर्षमा तीव्र गतिका कारण करिब पाँच हजार सडक दुर्घटना भएका छन्। जसमध्ये आव ०७३/०७४ मा एक हजार ३९२ घटना चालकको लापरबाहीले भए भने ०७४/०७५ मा यो संख्या एक हजार ३९५ देखियो। तीव्र गतिका कारण हुने सडक दुर्घटनाको संख्या ०७५/०७६ मा २ हजार १९३ पुगेको तथ्यांक छ।

दुर्घटनाको कारक चालक मात्रै नहुने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्। ‘दुर्घटना हुँदा सबैले आआफ्नो तर्फबाट जिम्मेवारी लिनुपर्छ। तर यहाँ चालकलाई मात्र दोष दिने प्रवृत्ति छ। धेरै दुर्घटनामा चालकको पनि त मृत्यु हुन्छ नि’, उनी भन्छन्।

सरकारले स्वास्थ्य, शिक्षा जतिकै यातायातलाई पनि प्रथामिकतामा नराख्दा दुर्घटना न्यूनीकरण नभएको महासचिव सिटौलाको भनाइ छ। ‘सडक सुरक्षाका विषयमा सरकारले कामचलाउ काम गर्ने अनि दुर्घटनाको दोष अरूलाई दिएर हुन्छ ? ’ उनी भन्छन्।

कमजोर सुरक्षा ढाँचा

सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न क्षेत्रमा लगानी बढाइरहेको छ। तर, दुर्घटना बढिरहेका छन्। सडक सुरक्षाको ढाँचा नबदलिएका कारण दुर्घटनामा कमी नआएको परिवहन क्षेत्रका जानकार बताउँछन्।

परिवहन इन्जिनियर आशीष गजुरेलका अनुसार सडक र सवारीसाधन नयाँ प्रयोगमा आए पनि नेपालमा नयाँ सुरक्षा प्रणाली छैन। इन्जिनियर गजुरेल भन्छन्, ‘सडक बनाउने र मर्मत गर्ने कुरामा हामी अगाडि छौं। सडक सुरक्षाका विषयमा कसैले ध्यान दिएको छैन। हामीले सडक सुरक्षाको नयाँ रणनीति नै बनाएका छैनौं।’

सडक सुरक्षाका विषयमा सम्बन्धित निकायले कामै नगरेको आरोप उनको छ। तर, आफूहरूले दीर्घकालीन र तत्कालीन सडक सुरक्षाका ढाँचा बनाइरहेको बताउँछन् यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल।

‘हामीले दसैंका बेला अलि धेरै कडाइ गरेका थियौं। यही कारण दुर्घटनामा कमी आएको थियो। यसपछि फेरि दुर्घटना बढे। दुर्घटना न्यूनीकरणका लागि हामीले दीर्घकालीन र तत्कालीन ढाँचामा काम गरिरहेका छौं’, महानिर्देशक हमाल भन्छन्, ‘हामीले गतिमापनदेखि स्थानीय तहलाई सवारीसाधन निगरानी गर्न अनुरोध गरिरहेका छौं।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्