सागमा आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु : एकको आइसियूमा उपचार हुँदै, ६ डिस्चार्ज



काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । 

महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन् । 

अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए । ‘हाम्रा १३ खेलाडी बिरामी परेका छन् । त्यसमध्ये धेरै खेलाडी एथलेटिक्सका छन् । यो हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो,’ डा. इकनायकेले भने, ‘हामी उनीहरूको उपचारमा खटिइरहेका छौँ ।’ एथलेटिक्स प्रशिक्षण टोलीका तीनजनालाई पनि उच्च ज्वरो आएर होटेलमा आराम गरिरहेका छन् । उनीहरूलाई पनि डेंगुको आशंका गरिएको छ । 

श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ । सागको बन्द प्रशिक्षणका क्रममा श्रीलंकाको सुगथादसा स्पोर्टस् होटेलमा बसेकामध्ये पाँच खेलाडीलाई अहिले डेंगु देखिएकाले उतै संक्रमित भएको अनुमान लगाएको हो । 

श्रीलंकाली साग टोलीले नेपालसँग विशेष अनुरोध गरेर ब्लुक्रस अस्पतालमा आफ्ना बिरामीको आफैँ उपचार थालेको छ । भिडियो कलमार्फत उतैका विज्ञ डाक्टरसँग परामर्श लिएर उपचार गरिरहेको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र गुरुङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्