समाजवादीमा नयाँ शक्ति र फोरमबीच खेमाबीच मनमुटाव



काठमाडौं : पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै समाजवादी पार्टीमा पूर्व नयाँ शक्ति र पूर्वसंघीय समाजवादी फोरम नेपालका नेताबीच गम्भीर मनमुटाव सुरु भएको छ। विवाद उपनिर्वाचनको परिणामपछि उत्कर्षमा पुगेको हो। तत्कालीन नयाँ शक्ति र तत्कालीन फोरमबीच एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सम्बन् धबिग्रदै गएको पूर्व फोरमका नेताहरूको बुझाइ छ।

केही दिनअघि प्रधानन्त्रीले समाजवादी पार्टीलाई नसोधी अपमानजक किसिमले मन्त्रिमण्डल पुनर्गठन गरेकोमा यसको जिम्मेवार पूर्व नयाँ शक्ति पार्टीका नेता, त्यसमा पनि नयाँ शक्ति पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई रहेको पूर्व फोरमका एक पदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण हुनुअघि प्रधानमन्त्रीले हाम्रा अध्यक्ष (उपेन्द्र यादव) लाई सबैभन्दा बढी विश्वास गर्नुहुन्थ्यो। हामीले हाम्रो रोजाइमा मन्त्रालय पायौं। तर बाबुरामजीको आगमनपछि प्रधानमन्त्रीसँग हाम्रो पार्टीको सम्बन्ध यसरी बिग्रँदै गयो कि, यसको परिणाम केही दिन प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा प्रस्ट देखियो।’

वैशाख २८ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको निकै कडा आलोचना गरेका थए। उनले प्रधानमन्त्रीलाई गफास्टक भन्दै ठाउँठाउँमा व्यंग्य गरेका थिए। सरकार असफल भएको उनले निष्कर्ष निकालेका थिए। समाजवादी पार्टीको सो प्रतिवेदनपछि समाजवादी पार्टीसँग प्रधानन्त्री सशंकित भएको स्रोतले बतायो। भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उठ्नै नसक्ने गरी समाप्तिको बाटोमा लागेको ठोकुवा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने भट्टराईले त्यति कडा आलेचना गरेनन्। राजनीतिक प्रतिवेदनमा भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे तत्काल पुनर्समीक्षा गर्ने बताएका थिए। यद्यपि सो बैठकले सरकार छाड्ने निर्णय भने गरेन तर भट्टराईको प्रतिवेदनपछि पार्टी र प्रधानमन्त्रीबीचको सम्बन्ध बिग्रन थाल्यो,’ फोरमका अर्का एक नेताको विश्लेषण छ।

पूर्व फोरमका नेता तथा हाल समाजवादी पार्टीका सचिव इस्तियाक राईले उपनिर्वाचनमा पूर्व नयाँ शक्तिको प्रभाव रहेको भनिएको पडाडी क्षेत्रमा पार्टीले सोचेभन्दा कमजोर भोट ल्याएको बताउँदै भने, ‘यस विषयमा पार्टीमा अब गम्भीर समीक्षा हुनुपर्छ।’ पहाडी क्षेत्रमा समाजवादी पार्टीले जति भोट ल्याउने अनुमान गरिएको थियो, त्यस्तो भोट नआएको उनको विश्लेषण छ। पूर्व नयाँ शक्ति पार्टीका नेताको प्रभाव रहेको भनिएको पहाडी जिल्लाका केही ठाउँमा समाजवादी पार्टीले ३÷४ भोट मात्र ल्याएकोमा समाजवादी पार्टीका नेता दुखित भएका छन्। यसबाट पूर्व नयाँ शक्ति पार्टीको मतको आधार निकै कम रहेको पूर्व फोरमका नेताको बुझाइ छ।

समाजवादी पार्टी र राजपाबीचको एकीकरण सफल हुन नसक्नुमा पनि पूर्व नयाँ शक्ति पार्टीका नेताहरू जिम्मेवार रहेको पूर्व फोरमका अर्का एक नेताले बताए। राजपाले पार्टी एकीकरण गर्न समाजवादी पार्टीसँग ठाकुरलाई पहिलो अध्यक्ष मान्नुपर्ने र एकीकरणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेको छ। सरकार छाड्ने सर्तको विषयमा भने आफूहरू तयार रहेको समाजवादी पार्टीका नेता बताउँछन्।

पूर्व नयाँ शक्ति पार्टीका नेताहरू भने पूर्व सहमतिअनुसार एकीकरणपछि समाजवादी पार्टीले सरकार नछाडेकोमा पूर्व फोरमका नेतासँग आक्रोशित भएका छन्। नयाँ शक्तिसँग एकीकरण गर्नुअघि एकीकरणपछि सरकार छाड्ने सहमति भएको उनीहरू बताउँछन्। वैशाख २८ देखि ३० गतेसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पूर्व नयाँ शक्तिका नेताले तत्काल सरकार छाड्नुपर्ने अडान राखेका थिए तर पार्टी अध्यक्ष उपेन्द्र यादव र उनीनिकट नेता तत्काल सरकार छाड्न नहुने अडानमा उभिए। यसपछि बैठकले तत्काल सरकार नछाड्ने निर्णय ग¥यो तर त्यसपछि पूर्व फोरम र पूर्व नयाँ शक्ति पार्टीका नेताभित्र विवाद बढ्न थालेको स्रोतको भनाइ छ।

गत वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन गरिएको थियो।यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्