शेयर बजार पुनः ओरालो



काठमाडौं : शेयर बजार घट्नेक्रम आज पनि रोकिएन । लगातार बजार ओरालो लाग्दा एक हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर एक हजार १०० बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले ओरालो लागेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । 

आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइतबारको तुलनामा कम हो । 

स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ विन्दुले बढेको छ । 

यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ । 

घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् । 

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्