‘सरकारको औचित्य नै सकियो’



काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकता र मेलमिलाप नरुचाएको टिप्पणी गरेका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहेको आरोप लगाए ।

 

उनले कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने पनि बताए । सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भएको उनको भनाइ थियो । बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।

 

एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास व्यक्त गरे । देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले गरेको आरोपसमेत लगाए । कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले पनि मेलमिलापबाटमात्र समृद्धि सम्भव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्