बालिकालाई ट्रकले ठक्कर दिदा तनावग्रस्त बनेको कोहलपुरको यस्तो छ पछिल्लो अवस्था



काठमाडौं : बालिकालाई ट्रकले ठक्कर दिदा तनावग्रस्त अशान्त बनेको कोहलपुरमा अहिले निषेधित क्षेत्र घोषणा भएको छ । आज (आइतबार) बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द को ट्रकको ठक्करबाट घाईते भएको थियो ।

त्यसपछि चर्किएको आन्दोलनले चर्को रुप लिदै अहिले निषेधित क्षेत्र घोषित भएको हो । प्रदर्शनमा क्रममा कोहलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका थिए ।

ट्रकको ठक्कबाट बालिका घाईते भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको थियो । बालिका घाईते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी समेत गरेका थिए । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा समेत आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रहरीले घटनालाई दबाउन खोजे पनि स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि निषेधित क्षेत्र बनाउनुपरेको प्रहरीले जनाएको छ ।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा प्रदर्शनकारीहरुले आगजनी गरेका थिए । अहिले निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनभन्दा बढी विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

(यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सं)

प्रहरीले अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो भने रवरको गोली समेत चलाएको थियो । गोली लागि तीन विद्यार्थी घाइतो भएका छन् । आन्दोलनले उग्ररूप लिएपछि कोहलपुरमा प्रहरीले गोली चलाएको थियो । गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । तनावग्रस्त बनेपछि कोहलपुर बजार पूर्णरुपमा बन्द भएको छ ।

कोहलपुरका उद्योगी व्यवसायीहरुले कोहलपुरमा थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई आग्रह गरेका छन् । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै विद्यार्थीहरु आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्