समृद्धिबाटै समाजवादमा : दाहाल



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् ।

 

नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।

 

अध्यक्षले दाहालले भने–‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्यप्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नुपर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरीमात्रै शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढेजस्तै हो ।’

 

अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसदवादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताए ।

 

अध्यक्ष दाहालले भने–‘समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं, ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।’

 

कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उनले अबिर र खादा लगाइ पार्टीमा प्रवेश गराए ।

 

नेकपा प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष दाहालको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्