हुम्लामा जीप पुग्यो, स्थानीयबासिन्दाको हर्षबढाइँ



सुर्खेतः राष्ट्रिय सडक संजालले नजोडिएको हुम्लास्थीत खार्पुनाथमा पहिलो पटक जीप पुगेको छ । हुम्ला सदरमुकाम सिमकोट गाउँपालिकासँग जोडिएको छिमेकी खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा पहिलोपटक जीप पुगेको हो ।

 

कर्णाली करिडोर अन्तर्गत पर्ने खार्पु सुनाखाडा खण्डमा पर्ने याङ्चुमा बगरसम्म सडक निर्माण सम्पन्न भएपछि नीजि क्षेत्रबाट पहिलोपटक जीप संचालनमा आएको हो । गाडी पुगेपछि स्थानीयबासिन्दाले हर्षबढाइका साथ स्वागत गरेका छन् । अब सदरमुकाम आउजाउ गर्न सहज हुने उनिहरुको बिश्वास छ ।

 

‘बाहिर जिल्ला जाँदा गाडि चढेपनि आफ्नै ठाउँमा पैदल हिड्नुको विकल्प थिएन’ खार्पुनाथ–५ की पुस्पा शाहीले भनिन्, ‘एक÷दुई मात्रै भएपनि हाम्रो गाउँमा गाडि संचालनमा आएको छ, अब सदरमुकाम आउजाउ गर्न निकै सहज हुनेछ ।’ सदरमुकाम जान चार घण्टा पैदल दुरी रहेको भन्दै उनले बिरामी हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरिन् । ‘मैले हाम्रो गाउँमा कहिले गाडि आउँछ भन्ने सपना पनि देखेको थिइन’ स्थानीय धने कामीले भने, ‘तर काम गरेपछि सम्भव हुनेरहेछ, अब आवतजावत सहज हुने मात्रै होइन' सामान ओसार पसार गर्न पनि पिठ्युको भारी छुट्ने उनको आशा छ ।

 

गाउँपालिका कार्यालय अगाडि जीप पुगेपछि चालक र गाडिलाई बाजाघाझा सहित स्वागत गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले यातायात संचालन सुरु हुँदा स्थानीयलाई सहज हुने बताए । खार्पुनाथ यातायात प्रालिका अध्यक्ष लोकजंग शाहीले सहुलियत भाडादरमा  गाडि संचालनमा ल्याउने बताए ।

 

यस्तै, खार्पुदेखि छोरसम्म २२ किलो मिटर रहेकोमा खार्पुदेखि याङ्चुसम्म चार किलो मिटर सडकको निर्माण कार्य पुरा भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर शशांक मिश्रले जानकारी दिए । चालु आर्थिक बर्षमा नै २२ किलोमिटर खण्डको सडक निर्माण कार्य पुरा हुने उनले बताए । सिमकोटदेखि खार्पुसम्मको १२ किलोमिटरमा यस अघि नै गाडी संचालनमा आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्