के–के पेश गर्दैछन् प्रचण्डले आजको बैठकमा ?



काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ । यसअघि सचिवालयको बैठक आज विहान ९ बजेका लागि बोलाइएको भए पनि नेताहरुको व्यस्तता र गृहकार्य नपुगेको भन्दै दिउँसो १ बजेका लागि सारिएको हो ।

आज बस्ने बैठकमा पार्टीको कार्यकारी भूमिका पाएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी रहेको श्रोतले बताएको छ ।

यो बैठकमा देशैभरि राष्ट्रिय जागरण अभियान सुरु गर्ने योजनासहित स्थायी कमिटी र केन्द्रीय कमिटीको विषयमा पनि छलफल हुने भएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने उक्त बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका आगामी ६ महिनाको कार्य योजना पनि पेश गर्ने भएका छन् । प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा अनुपस्थित रहेपनि उनले आजै अपराह्न ४ बजे मन्त्रीपरिषदको बैठक भने बोलाएका छन् ।

सचिवालयको बैठक बस्नु अगाडी अध्यक्ष प्रचण्डले पार्टीका नेताहरु माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा लगायत महासचिव विष्णु पौडेलसँग बैठकका एजेण्डाका विषयमा छलफल गरेका थिए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डका बीचमा यसअघि जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकताको सन्देश प्रवाहका साथै सरकारले गरेका राम्रा कामहरुका बारेमा जानकारी दिने उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने तयारी नेकपाले गरेको थियो ।

दुई अध्यक्षका बीचमा कार्यविभाजन भएपछि पछिल्लो समय कार्यकारी अध्यक्षको अधिकारसहितको पार्टी सञ्चालनको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले आफ्नो सक्रियता समेत बढाएका छन् । पार्टी एकताको बाँकी काम टुंगो लगाउन र पार्टीलाई गतिदिनका लागि उनी सक्रिय भएका छन् ।

राष्ट्रिय जागरण अभियान सुरु गर्नुभन्दा अघि नै पोलिटव्युरो गठन, विभागका सदस्यहरुको नामावली टुंगो लगाउने र कार्यविधि तयार गर्ने काम भइरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका साथै अन्य शीर्ष नेतासँग अध्यक्ष प्रचण्डले यस विषयमा छलफल गरिरहेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग खुमलटारमा छलफल भइसकेको छ । आवश्यकताअनुसार अन्य नेतालाई खुमलटारमै बोलाएर र कतिपय नेतालाई उनीहरुकै निवास पुगेर समेत अध्यक्ष प्रचण्डले छलफललाई तीव्रता दिएका छन् । यसका साथै पार्टी सचिवालयले उपाध्यक्षमा वामदेव गौतमलाई चयन गरेपछि स्थायी कमिटीबाट सो प्रस्ताव पारित गराउने विषयमा समेत उनले छलफल गरिरहेका छन् ।

नेकपा एक नेताका अनुसार स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा समेत अध्यक्ष प्रचण्डले नेताहरुसँग छलफल गरेका छन् । लामो समयसम्म स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक नबसेकाले बैठकलाई नियमितता दिन उनी सक्रिय छन् । पार्टी एकता भएको १८ महिनासम्ममा एक चोटी मात्रै केन्द्रीय कमिटी बैठक बसेको छ ।

पार्टीमा प्रचण्ड कार्यकारी अधिकार पाएपछि नेकपा नेतासँग मात्रै नभई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेट गरिसकेका छन् । पार्टीका साथै अन्य पार्टीका नेतासँगको सम्बन्ध सुमधुर बनाउने विषयमा केन्द्रित भई उनले छलफल गरेको नेकपा स्रोतको दाबी छ ।

प्रचण्ड निवास खुमलटारमा अहिले नेताहरुको बाक्लै भिड हुन थालेको छ । पार्टीलाई गतिदिनुका साथै सरकारको काम अझैं प्रभावकारी बनाउने विषयमा प्रचण्ड निवास खुमलटारमा नेताहरुका बीचमा छलफल हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्