ब्रुनाई र सिङ्गापुर गोर्खा भर्तीमा विचौलियाको भूमिका अन्त्य गर्न माग



काठमाडौं : ब्रिटिश र भारतीय सेनामा गोर्खा सेनाको भर्ती सन्धिअनुसार भए पनि ब्रुनाइ र सिंगापुरको गोर्खाभर्ती भने कुनै सन्धिसम्झौता वा सहमती नै छैन । यसै विषयलाई लिएर भूतपूर्व ब्रिटिश गोर्खाहरूले केही गम्भीर प्रश्नहरु उठाएका छन् ।

उनीहरुका अनुसार ब्रुनाइको ‘गोर्खा रिजर्भ युनिट’ र ‘सिङ्गापुर प्रहरी’मा नेपाली युवाको भर्ती विनाआधिकारिकता गरिने गरिएका हुनाले यो मानव बेचबिखनको प्रश्नसँग जोडिने सम्भावनालाई नकार्न सकिने छैन । भर्ती गर्दा बेलायती मापदण्ड अपनाउने र पठाउँदा ब्रुनाई र सिंगापुर पठाउने गरिने भएकाले ब्रुनाई र सिंगापुर पठाएवापत बेलायतले कर लिने गरेको खुल्न आएको छ ।

बेलायती बिचौलियाको सिकार हुँदै आएका नेपाली ब्रुनाइ तथा सिंगापुरे लाहुरेको वास्तविकताको पहिचान गर्न र न्याय दिलाउन माग गर्दै भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गोर्खासम्बन्धी ‘काठमाडौं घोषणापत्र’ जारी गरेको छ ।

घोषणापत्रमा यसको अन्त्यका लागि नेपाल आफैँले सिंगापुर र ब्रुनाइसँग गोर्खा भर्तीबारे छुट्टै सम्झौता गर्नुपर्ने माग गरिएको छ । घोषणापत्रमा भनिएको छ– ‘गोर्खा रिजर्भ युनिट र सिङ्गापुर प्रहरीमा नेपाली युवाहरूको भर्ती र व्यवस्थापनमा ब्रिटिस सरकारले खेलेको बिचौलियाको भूमिकाको अभ्यासलाई तत्काल अन्त्य गर्न र ती निकायमा कार्यरत सुरक्षा गार्ड तथा प्रहरीले पाउनुपर्ने सबै पारिश्रमिक तथा अन्य सुविधा दिलाउने सम्बन्धमा नेपाल सरकारले तत्काल सम्बन्धित सरकारसँग सम्वाद गरोस् ।’

भूतपूर्व ब्रिटिश गोर्खाका तर्फबाट नेपाल र ब्रिटेन सरकारलाई ‘अल्टिमेटम पत्र’ बुझाउने र माग गरिएअनुसार आफ्ना मागहरू पूरा नभएमा सन् २०२० देखि गरिने गोर्खा भर्तीलाई अवरोध गर्ने चेतावनी पनि दिइएको छ ।

भूतपूर्व ब्रिटिश गोर्खाहरूले उक्त घोषणापत्रमार्फत कतिपय आफ्ना पुराना मागहरू फेरि एकपटक दोहर्याएका छन् : उनीहरूले गोर्खा ब्रिगेडमा आबद्ध भूतपूर्व सैनिकहरू र उनीहरूका परिवारमाथि भएका भेदभाव अन्त्य गर्न समेत माग गरेका छन् । त्यस्तै युद्धमा मारिएका हजारौ सैनिक र कटौतीमा परेर फर्काइएका सैनिक तथा तिनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्