गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन, कोहलपुरमा कर्फयु जारी



काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको छ । कोहलपुरमा विद्यार्थीहरुमाथि भएको दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध गरेका हुन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग्दै सडकमा चर्का नारा लगाएका थिए ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । पशुपति क्याम्पसबाट शुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको छ। कार्यकममा बोल्दै नेविसंघका नेता मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने र विद्यालय पोशाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उता बाँकेको कोहलपुरमा ट्रकले एक छात्रालाई ठक्कर दिएपछि तनावग्रस्त रहेको कोहलपुरका सबै शैक्षिक संस्थाहरु आज बन्द गरिएको छ । विद्यालयहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै विद्यालय बन्द गर्ने जाएका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरी र विद्यार्थी गरि करिब ४० भन्दा बढी घाइते भएका थिए । त्यसपछि प्रशासनले नै कफ्र्यू लगाएको थियो । यतिबेला स्थिती सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायले बताएका छन् । अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्