फरार सूचीमा रहेका डीएसपीको ‘गुण्डा कनेक्सन’



काठमाडौं : केही वर्षअघि दिनदहाडै काठमाडौंको मुटु मानिने तिनकुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो । गौचन हत्याका मुख्य योजनाकार कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेत अहिले केन्द्रीय कारागारमा छन् ।

थुनामा रहेका गुण्डा बस्नेतले जेलबाटै गुण्डागर्दी चलाउन थालेको प्रमाण प्रहरीले फेला पारेपछि उनलाई गोलघरमा राखिएको छ । तर, पनि बस्नेतले विभिन्न तरिकाबाट फिल्मी शैलीमा आपराधिक धन्दा चलाउँदै आएको रहस्य एकपछि अर्को गर्दै खुल्दै आएको छ । र उनको धन्धाको मुख्य सहयोगी डीएसपी कुमोद ढुंगेल भएको पुष्टि भएपछी ढुंगेल निलम्बनमा परेका छन् । उनको विरुद्ध पक्राउ पुर्जी जारी भएपनि पक्राउ भने गर्न सकिएको छैन ।

जेलबाटै आफ्नो धन्दा चलाउदै आएका गुण्डा नाईके काठमाडौं गोलढुंगाका स्थानीय बासिन्दा बस्नेत बाफलमा हुर्किए । प्रमाणपत्रसम्मको अध्यन गरेका बस्नेतलाई लगाउन र खान भने दुःख थिएन । मध्यम वर्गीय बस्नेत परिवारकोे गोलढुंगामा आज पनि पुख्र्यौली सम्पत्ती राम्रै भएको उनी निकट बताउछन् । तर, बस्नेत प्रमाणपत्र तहको अध्यन गर्दै गर्दा ०५८ साल देखि गुण्डागर्दीमा हिँड्न थालेका हुन् । उनी त्यतिबेला टोले गुण्डाको रुपमा उदाउँदै थिए ।

२०६० सालमा पहिलो पटक बस्नेतलाई तत्कालिन लैनचौर प्रभागका इन्सपेक्टर तथा हाल काठमाडौं परिसरमा कार्यरत एसपी अशोक सिंहले ठमेलको ज्याठाबाट खुकुरीसहित पक्राउ गरेका थिए । बस्नेतसँगै एसपी सिंहले त्यसबेलाका चल्तीका गुण्डा काजी शेर्पासहित अन्य चार जनालाई मारुती कारबाट आधा दर्जन खुकुरीसहित पक्राउ गरेका थिए । त्यसबेला केही सार्वजनिक अपराधमा मुद्दा चलाएर उनिहरू छुटेका थिए ।

ठमेलबाट दिपक मनाङ्गेको समूहले लखेटेपछि काजी शेर्पाले समिरमान बस्नेत जस्ता केटाको दुरुपयोग गरेर गुण्डागर्दीलाई बढवा दिए । काजी शेर्पाकै लहलहैमा कलेज पढ्दै गरेका बस्नेतको आपराधिक यात्र शुरु भएको थियो । जुन यात्राको अन्त्य अहिलेसम्म भएको छैन । जुन अहिले जेल बसेरै पनि चलाइरहेका छन् ।

शेर्पासँगको सहयात्रामा बस्नेतको भेट त्यस ताकाका कहलिएका गुण्डा नाईके कुमार श्रेष्ठ उर्फ घैटे (प्रहरी इन्काउन्टमामा मारिए) सँग हुन पुग्योे । घैटेसँग बस्नेतले गुण्डागर्दीमा मात्र सहकार्य गरेनन् मितेरी साइनो कायम गरे । यी दुई मीतले २०६२ देखि २०६४ सम्म राजधानीमा गुन्डागर्दीको सीमा नघाए । उनीहरुले विभिन्न व्यक्ति तथा व्यवसायीहरुलाई बाहिमाम पारेका थिए ।

ठेक्कापट्टमा गुण्डागर्दी यहि समूहको पालामा बढेको प्रहरीहरू बताउँछन् । आफूनिकट ठेकदार तथा जसले कमिशन बढी दिन्छ उसलाई ठेक्का मिलाउन यो घैटे र बस्नेत लागि पर्न थाले । ठेक्कापट्टमा रस पसेपछि उनले गजुरमुखी निमार्ण सेवा नामक कम्पनीमा सेयर होल्डर हुँदै गजुरमुखीको मालिक बन्न पुगे, घैटे । यसमा बस्नेतले पूर्णरुपमा सहयोग गरेका थिए ।
काठमाडौंलगायत देशका ठूला–ठूला निमार्णका ठेक्का मिलाउन तत्कालिन निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनले घैटेको समूहलाई प्रयोग गर्दै आएको थियो । ठेक्का मिलाउँदै घैटेको समूहले करोडौं कमिशन कुम्लाउँदै आएको थियो ।

त्यहिताका घैटेको प्रहरी इन्काउन्टरमा मारिए पश्चात बस्नेत फरार भएका थिए । घैटे मारिनु अगाडि बस्नेतको खासै चर्चा भने हुने थिएनन् । घैटेको इन्काउन्टर पश्चात बस्नेतको योजनामा घैटे इन्काउन्टरमा खटिएका प्रहरी अधिकृतलाई निशाना बनाएको सूचना चुहावट भएपछि बस्नेतका केही गिरोह पक्राउ परेका थिए ।

तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी हालका आईजी सर्वेन्द्र खनाल नेतृन्वको टोलीले न्यूरोडको एक गल्लीमा लुगेका साजन गुरुङ र अर्का डन साजन महर्जनलाई पक्राउ गरेपछि प्रहरीमाथिको नियोजित आक्रमण टरेको थियो ।

गुरुङ र महर्जन पक्राउ पश्चात प्रहरीमाथि आक्रमणको षड्यन्त्र बस्नेतले बुनेको रहस्य खुलेपछि बस्नेत फरार भएर भारतको गोवा पुगेका थिए । जहाँ उनको भेट अर्का कुख्यात गुण्डा नाईके मनोज पुनसँग भयो । पुनसँगको भेटपछि नेपालमा आपराधिक कर्ममा सत्ता चलाउने षड्यन्त्र बस्नेतले बुन्न थाले ।

पुन बुटवलमा आधा दर्जन अपराध गरी फरार भएका अर्का गुण्डा थिए । रुपन्देहीका युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेर फरार पुन त्यहाँ लुकेका थिए । यी दुईको मिलन पश्ताच राजधानीमा शरद गौचनमाथि गोली प्रहार भएको थियो ।

कुमुद ढुंगेल पछिल्ला दिनमा एउटा गुण्डा समूहसँग मिलेर अर्को समूहमाथी जाई लाग्ने र सम्पत्ति हडप्ने योजना अनुसार चल्ने गरेका थिए । त्यहि योजना अनुसार उनले दिनेश अधिकारी चरीको इन्काउन्टर गरेको रहस्य पनि अहिले उजागर भएको छ । त्यहि योजना अनुसार ढुंगेलले इन्काउन्टर आतंक मच्चाएको यी घटनाबाट पनि पुष्टी हुन्छ ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी अनुराग कुँवर हाल समिरमानको लागि सुराकीको काम गर्न थालेको पत्ता लागेको छ । जेलमा रहेका समिरमानको लागि अनुराग कुँवरले काम गर्दै आएको भेटिएको हो । करिब चार वर्ष अगाडि प्रहरी इन्काउन्टरमा घैटे मारिएपछि उनको अवैध आर्जनमा दर्जनौ व्यक्तिहरुले मस्ती गर्दै आइरहेका छन् । यसरी मस्ती गर्ने मध्य एक हुन्, कुँवर । घैटे मारिएपछि कुँवर चलचित्र क्षेत्रमा सकृयता बढाउन थालेका छन् । गुण्डागर्दीको आफ्नो रुपलाई पखाल्न र घैटेको अबैध पैसालाई चलचित्रमा लगानी गरेर कुँवरले आफुलाई चोखो साबित गर्न खोजिरहेका छन् ।

प्रहरी स्रोतका अनुसार कुँवर अहिले पनि प्रहरी निगरानीमा परेका गुण्डा हुन् भने उनले क्यासिनोमा मिटरव्याजमा लगानी गरेर कमाएको अबैध पैसालाई चलचित्र क्षेत्रमा लगानी गरेका छन् । कुँवरले कुमार घैटेसँग तीन करोड रुपैयाँ लिएर विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी गरेका थिए । तर, घैटेको मृत्युपछि सोही तीन करोड रुपैयाँ र त्यसबाट उठेको ब्याजसमेत गर्दा करिब ७ करोडको सम्पत्ति जोड्न सफल भएको उनी निकट व्यक्तिहरु बताउँछन् ।

काठमाडौं सांग्ले खोला स्थायी घर भएका कुँवर एक सामान्य परिवारका व्यक्ति हुन् । घैटे इन्काउन्टरमा मारिनुभन्दा पहिले सोही समूहमा आबद्ध भएका कुँवर पछिल्लो समय सामाखुसी क्षेत्रमा हुने गुण्डागर्दी र असुलीका धन्दामा पर्दा पछाडि बसेर कारोबार चलाउँदै आएको प्रहरी स्रोत बताउँछ । केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका कुँवरले पछिल्लो समय केही व्यापारी र केही फिल्मकर्मीहरुलाई मिटरब्याजमा पैसा लगानी गर्दै आएको श्रोतको दाबी छ ।

कुँवरले अदालतमा बिचौलियाका रुपमा चिनिने प्रभु शमशेर राणालाई मासिक ३० लाख रुपैयाँ ब्याज तिर्ने कागज गराएर १ करोड रुपैयाँ लगानी गरेको एक चलचित्रकर्मी बताउछन् । पछि प्रभु शमशेरले उक्त रकम तिर्न नसकेपछि बानेश्वरस्थित पहिले शिवदर्शन चलचित्र मन्दिर रहेको ठाउँमा निर्माणाधीन करोडौको भवन अनुरागले कब्जा गरेको स्रोत बताउँछ । करिब १५ वर्ष अगाडि चाबहिलस्थित गोपीकृष्ण चलचित्र नजिकै अनुरागले चलाएको मोटरसाइकलले ठक्कर दिँदा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहका भाई वरुणबहादुर सिंहको मृत्यु भएको थियो । सो घटनापछि उनी केही वर्ष सिंगापुर पलायन भएका थिए । पछि नेपाल फर्केर घैटे समूहमा आबद्ध भएका उनी घैटे इन्काउन्टरपछि पनि अवैध धन्दा सञ्चालन गर्दै आएका छन् ।

एक उच्च प्रहरी अधिकारीका अनुसार घैटेले इन्काउन्टरमा मारिनुभन्दा पहिले नै अत्याधुनिक हतियार कुँवरलाई राख्न दिएका थिए । जब घैटे प्रहरी कारबाहीमा मारिए, त्यसपछि कुँवरले उक्त हतियार गायब बनाएको सुराक अपराध महाशाखाका अधिकारीहरुलाई पनि पुगेको थियो । यी सबै घटनाले कुमोद ढुंगेलको खुरापाती योजनाको संकेत गरेको एक प्रहरी अधिकारीले बताए । कुमोदले खुंखार खुरापातीलाई जोगाउने र तिनैलाई सहयोग गर्ने गरेको पनि पाइएको हो । कुख्यात अपराधी राधे भण्डारीको भाई गोपीको योजनामा कुमोद ढुंगेल चल्ने गरेको प्रहरी श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्