काठमाडौं–मधेस द्रुतमार्ग २०८१ मा सम्पन्न हुने



काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य सुस्त भएको भन्दै सर्वत्र आलोचना भइरहेको बेला सेनाले पत्रकार सम्मेलनमा साढे ४ वर्षभित्र निर्माण कार्य सम्पन्न हुने जनाएको हो ।

द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर रहेको छ । जसमा ५५.५ मिटर सडक, ६.४१ सुरुङ र १०.५९ किलोमिटर पुल हुनेछ । यो द्रुतमार्ग ललितपुरको खोकनाबाट सुरु हुने र यसको पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

सेनाका अनुसार द्रुतमार्गमा तीनवटा सुरुङ हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहनेछ ।

प्रतिक्रिया दिनुहोस्