पुसको दोस्रो साता संसदले सभामुख पाउने



काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको पाँचौं अधिवेशनका लागि तयारी सबै पूरा भइसकेको जानकारी दिएकी छन् । संसदमा सभामुख पनि नभएको र उपसभामुखलाई पनि कार्यकारी नदिइएको बेला तुम्बाहाम्फेले संसदको अधिवेशन बोलाउने तयारी गरिरहेकी हुन् ।

उपसभामुखका अनुसार सोमबार प्रधानमन्त्रीसँग भेटघाट र कुराकानीसँगै अधिवेशन बोलाउनेबारे निर्णय हुँदैछ । यसलाई पुष्टि गर्ने गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुस दोस्रो साता संसद अधिवेशन आह्वानको तयारी भएको जानकारी दिएका छन् ।

पाँचौं संसद अधिवेशन आह्वानका लागि संसद भवनको व्यवस्थापकीय कामहरु पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । हाल सभामुख नहुँदा संघीय संसद सचिवालयका काम अघि बढ्न सकेका छैनन् । संसद सचिवालयमा दैनिक कार्यकारी काम गर्ने÷गराउने अधिकार सभामुखलाई मात्र रहेको छ ।

यसै कारणले पनि सचिवालयअन्तर्गतका सबै प्रशासनिक कामकाजहरु पनि सभामुख नहुँदा हुन सकिरहेका छैनन् । विधेयक प्रमाणीकरणको काम बाँकी छ । संसद सचिवालयका प्रशासनिक काम पनि रोकिएकाले यो काम विहीनताको अवस्थाको अन्त्य गर्न पाँचौं अधिवेशनबाट सभामुख चयन संसद अधिवेशनको पहिलो काम हुने छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तात्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखको पद खाली रहँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्