ललितपुरका सांसदले गरे सडकको अनुगमन



ललितपुर : ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको आज अवलोकन गरेका छन् ।

हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनीहरुले आज बिहान टाहाखेल चौताराबाट ठेचोको वडा कार्यालयसम्म अनुगमन गरेका हुन् ।

सो सडकखण्ड अवलोकनका क्रममा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य नवराज सिलवालले लामो समयको प्रयासपछि यस क्षेत्रमा यथावतै अवस्थामा रहेको सडक कालोपत्र गर्न लागिपरेको बताउँदै यहाँका जनतालाई कति दिनसम्म धुवाँ, धुलो र हिलोको शिकार बनाउने भनी विस्तारभन्दा कालोपत्रलाई मुख्य ध्यानमा राखिएको स्पष्ट पारे ।”

ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पम्फा भुसालले चार वर्ष पहिले विनापूर्वतयारी बोलपत्र आह्वान गरेर त्यत्तिकै बिजोग अवस्थामा रहेको सो सडकखण्ड छिटोभन्दा छिटो कालोपत्र गराउन गत वर्ष साउनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छलफल गरी सहमति गराएको बताए ।

यसैगरी ललितपुरबाट प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले हाल ठेचोको स्वास्थ्यचौकीदेखि ढोलाहिटीसम्म कालोपत्र हुँदै गरेको सो सडकमा दुई लेन गाडी चलाउन सफल भएको जानकारी दिए । उनले भने, “ अब दोस्रो चरणमा टाहाखेलको चौतारादेखि लेलेको सरस्वतीकुण्डसम्म २२ मिटर चौडा सडक मर्मत तथा कालोपत्रको काम अघि बढेको छ ।”

ललितपुरबाट प्रदेशसभा सदस्य राजकाजी महर्जनले पहिलो चरणमा टाहाखेल दीपमाला विद्यालयदेखि टाहाखेल चौतारोसम्म लगभग चार किलोमिटर कालोपत्र समाप्त गर्न सफल भइसकेको जानकारी दिए । उनले भने, “अब बाँकी रहेको ६ किलोमिटर सो सडकखण्ड कालोपत्रको काम एक हप्तादेखि १० दिनमा समाप्त हुने छ ।”

सो सडकखण्डमा धमाधम अघि बढेको कालोपत्र गर्ने जिम्मेवारी कन्टेक प्रालि नामक ठेकेदार कम्पनीले लिएको छ । सो प्रालिका प्रतिनिधि दीपक थापाले आफूले लिएको कामलाई मजबुत बनाउन सम्झौता गरेभन्दा बढी सामग्री थप गरी कालोपत्र गरिरहेको जानकारी दिए । उनले भने, “ठेक्का लिएको एक महिनामा यति छिट्टै काम समाप्त गर्न सफल पहिलो कन्टक्सन कन्टेक प्रालि नै हो ।” हाल अघि बढिरहेको कालोपत्रको काम अबको १० दिनमा समाप्त हुने थापाले बताए।

गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडकमुनि निकासको काम गर्ने छ । ललितपुरका ग्वार्खु–इमाडोल हुँदै जाने, सातदोबाटो हुँदै गोदावरी जाने र बाग्मती करिडोरको सडक बनाउने विषयमा आज बैठक बस्ने तयारी भएको ललितपुरका सांसदले जानकारी दिए । सो अनुगनमा ललितपुरका सांसदका साथमा केही वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रजिअ, ललितपुर र सातदोबाटोका प्रहरी प्रमुख र स्थानीय जनताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्